रातो मछिन्द्रनाथको रथारोहण भयो, रथयात्रा अन्योलमै

रातो मछिन्द्रनाथको रथारोहण भयो, रथयात्रा अन्योलमै

रातो मच्छिन्द्रनाथको आज शनिबार रथारोहण गरिएको छ। मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले आज नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो।     

रथारोहण समारोहमा २० जनाभन्दा बढी सहभागी हुन नपाउने निर्णय भएसँगै त्यसैअनुसार सम्बन्धित मानिस मात्र सहभागी भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी गराएका छन्। उनले भने, 'विगतका हरेक वर्ष रथारोहणको चार दिनभित्र रातो मच्छिन्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा थियो। यसवर्ष कोरोना महामारीका कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन।'

आज हुने रथारोहणका लागि शुक्रबार नै पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले बनाएको आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरण राख्ने काम सम्पन्न गरेको ७० वर्षीय सूर्यमान डंगोलले बताए। 

हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ। यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो। यस वर्ष कोभिड–१९ का कारण १० असारदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए। 

‘वर्षा र सहकालका’ देवता मानिने यो रथयात्रा काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो। 


Leave a Reply

Your email address will not be published.