घाँस काट्न आएकी भारतीय महिलालाई रोक्न खोज्दा झडप, हवाई फायर

घाँस काट्न आएकी भारतीय महिलालाई रोक्न खोज्दा झडप, हवाई फायर

शुक्रबार साँझ फेरि रौतहटको परोहा नगरपालिकास्थित नाकामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच विवाद भएको छ।
विवादले उग्र रूप लिएपछि सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायरसमेत गर्नुपरेको बताइएको छ।

शुक्रबार अबेर साँझ सीमापारिकी एक महिला घाँस काट्न नेपालतर्फ छिरेकी थिइन्। सशस्त्र प्रहरीले ती महिलालाई रोक्न खोज्दा झडप भएको बताइएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नाका कटेर नेपालतर्फ प्रवेश गरेकी भारतीय महिलालाई फिर्ता हुन भनेपछि विवाद भएको बताए। 

‘पारिबाट घाँस काट्न भन्दै महिलाहरू छिरेका रहेछन्, सशस्त्र प्रहरीले रोक्न खोजेपछि महिलाले हँसियाले आक्रमण गरिन्,’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने, ‘हँसियाले काटेर सशस्त्र प्रहरीका एकजना हबल्दार घाइते भएका छन्।’

सशस्त्र प्रहरीले घाँस काट्न आएकी महिलालाई फिर्ता पठाएपछि त्यसतर्फबाट आएका मानिसको हुलले विवाद गर्दा झडपको स्थिति उत्पन्न भएको घिमिरेले जानकारी गराए। उनका अनुसार झडप नियन्त्रण गर्न सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो।

यता भारतीय पक्षले भने सशस्त्र प्रहरीले घाँस काट्न गएकी महिलालाई कुटपिट गरेको दाबी गरेको छ। 
भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेअनुसार झडपका क्रममा भारतीय नागरिकले एकजना सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिई एसएसबीलाई जिम्मा लगाएको दाबी गरेका छन्। 

तर, रौतहटका प्रमुख जिल्ला अधिकारी घिमिरेले भने सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिएको कुरा झुटो भएको बताए। 
‘ड्युटीकै क्रममा पारितर्फ गएका सशस्त्र प्रहरी जवानलाई झडपको अवस्था सिर्जना भएपछि सुरक्षा दिन एसएसबीले क्याम्पभित्र राखेका थिए, नियन्त्रणमा लिइएको होइन,’ घिमिरे भने। एसएसबी क्याम्पमा रहेको सशस्त्र प्रहरी पनि फिर्ता आइसकेको उनले बताए।

केही दिनअघि सर्लाहीको  पिपरा पर्साइन नाकामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप हुँदा सशस्त्र प्रहरीको गोलीबाट एक भारतीयको मृत्यु भएको थियो।

लकडाउनका कारण दुवै मुलुकको सहमतिअनुसार नाका बन्द रहेको अवस्थामा जबरजस्ती छिर्न खोजेका भारतीयलाई सशस्त्र प्रहरीले रोक्न खोजेपछि सुरु भएको विवादले झडपको रूप लिएको थियो।

यसअघि दुवैतर्फ आवतजावत सहज रहेका नाकाहरू कोरोना महामारीका कारण बन्द छन्। आमनागरिकको प्रवेश पूर्ण रूपले बन्द छ। खुला सीमा भएकाले सहज अवस्थामा किनमेल गर्न दुई देशका नागरिक सजिलै आवतवाजत गर्ने गरेका थिए। तर, अहिले परिस्थिति बदलिएको छ।

नाकाहरूमा कडाइ भएपछि पछिल्लो केही दिनयता विवादको क्रम बढ्दो छ। 


Leave a Reply

Your email address will not be published.