पोखराको कोरोना प्रयोगशालामा स्वाब परीक्षण रोकियो
पोखराको कोरोना प्रयोगशालामा शुक्रबार बिहानबाटै परीक्षण हुन सकेको छैन। जेनेरेटर र ट्रान्समिटरमा समस्या देखिएपछि स्वाब परीक्षण रोकिएको हो।
रामघाटस्थित प्रदेश क्षयरोग केन्द्रमा स्थापना गरिएको ल्याबमा बिजुली पास नहुँदा परीक्षण रोकिएको हो।
अहिले समस्या समाधान गरेर परीक्षण पुनः सुरु गर्न लागिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले जानकारी दिइन्।
उनले भनिन्, ‘हिजो बिहानदेखि बत्तीमा समस्या भएको हो। अहिले बनिसक्यो, अब परीक्षण सुरु हुन्छ।’
शुक्रबार परीक्षण हुन नसकेका स्वाब आज परीक्षण गरिने सुवेदीले बताइन्। हाल पोखरामा दुइटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ। दुवै ल्याबबाट दैनिक ३ सयसम्म स्वाब परीक्षण हुँदै आएको छ।