लुम्बिनी वाणिज्य क्याम्पस अब ‘मानित विश्वविद्यालय’

लुम्बिनी वाणिज्य क्याम्पस अब ‘मानित विश्वविद्यालय’

बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा रुपान्तरित गर्ने कार्यको प्रक्रिया सुरु गरिएको छ। क्याम्पसले शनिबार सरोकारवालाहरुसँग अन्तरक्रिया तथा प्रतिबद्धात्मक कार्यक्रमको गरेर यसको जानकारी दिएको हो। 

यसरी मानित विश्वविद्यालयको रुपमा रुपान्तरित भए लुम्बिनी वाणिज्य क्याम्पस नेपालको स्वास्थ संकाय बाहिरको कोर्स संचालन गर्ने नेपालको पहिलो मानित विश्वविद्यालय हुनेछ। 

२०३८ सालमा स्थापना भएको क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त सामुदायिक क्याम्पस हो। उक्त क्याम्पसमा ४ हजार बढी विद्यार्थी अध्ययनरत छन्।

क्याम्पसले विश्वविद्यालयमा रुपान्तरित भइसकेकोपनि ‘लुम्बिनी मानित विश्वविद्यालय’ नाम प्रस्ताव गरेको छ। वाणिज्य संकायमा आफ्नो शैक्षिक कार्यक्रम संचालन गरिरहेको क्याम्पसले मानित विश्वविद्यालयको रुपमा रुपान्तरित भइसकेपछि स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ साइन्स एण्ढ टेक्नोलोजी गरी दुई वटा स्कुलहरु संचालन गर्ने योजना बनाएको क्याम्पसका क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले जानकारी दिए।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले लुम्बिनी वाणिज्य क्याम्पसले उठान गरेको नयाँ बिषयले प्रदेश सरकारको ध्यानाकर्षण गरेको बताए। 

प्रदेश सरकारको नीति सिर्जनात्मक कामका लागि प्रोत्साहन र सहयोग गर्ने भएको हुँदा सिर्जनात्मक कामका लागि लुम्बिनी वाणिज्य क्याम्पससँग प्रदेश सरकार सँगै रहने प्रतिबद्दता जनाए। ‘मानित विश्वविद्यालय प्रदेशको ड्मि प्रोजेक्ट बन्नसक्छ’ मन्त्री बरालले भने, ‘ड्रिम पोजेक्ट सफल बनाउनमा प्रदेश सरकारले पनि साथ दिनेछ।’ 

उनले प्रदेश सरकारको यसै कार्यकालभित्रै लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापना गर्ने बताए। 
यसको मर्मलाई समेट्ने गरी प्रदेश सरकारले प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल गरिसकेको उनले जानकारी दिए। 

‘प्रदेश सभासम्म एक्ट पुर्याउनका लागि साह्रै सकस भयो’ मन्त्री बरालले भने, ‘काम अगाडी नबढेपछि म आफै भिड्नु पर्यो।’
प्रदेश विश्वविद्यालय र मानित विश्वविद्यालयको स्थापनाले देभभित्र संभावनाहरुको ढोका खोल्ने र युवाहरुमा आशाहरु पलाउने कुरामा आफुले विश्वास लिएको मन्त्री  बरालले बताए। 

उनले मानित विश्वविद्यालय स्थापनामा प्रदेश सरकारको सहयोग रहने र विश्वविद्यालय गरिब परिवारका विद्यार्थीको पनि पहुँचमा रहने गरी खोल्नमा सबैको सहयोग आवश्यक रहेको बताए।

प्रदेश संसद भोजप्रसाद श्रेष्ठले प्रदेशको प्रतिष्ठा बढाउनमा मात्रै नभई प्रदेशलाई चाहिने जनशक्ति परिपूर्तिमा मानित विश्वविद्यालयले सहयोग गर्ने हुँदा यसको स्थापनामा सबैको साथ आवश्यक रहेको बताए। 

उनले स्थानीय सरकार, प्रदेश सरकार, संघका साथै यस क्षेत्रका सामाजिक संस्थाहरुको साथले यो अभियानले सार्थक रुप लिने बताए। 
‘आजदेखि नै महायज्ञ सुरु भयो’ प्रदेश सांसद श्रेष्ठले भने, ‘व्यक्ति, संस्था र सरकार मिलेर शिक्षाको विकासको महायज्ञमा सहभागी बनौं।’

कार्यक्रममा राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय सरकारका प्रमुखहरु, सामाजिक संस्थाका प्रतिनिधीहरु, विद्यार्थी संगठनमा प्रतिनिधीहरु, शैक्षिक व्यक्तित्वहरु, क्याम्पसमा रहेको विभिन्न संगठनका प्रतिनिधीहरुले क्याम्पसले अगाडी सारेको मानित विश्वविद्यालयको अभियानमा साथ दिने प्रतिबद्धता जनाए। उनिहरुले एउटै जोड थियो, विश्वविद्याले गरिब समुदायका विद्यार्थीले समेत अध्ययन गर्ने पहुँचको बनोस्।

मानित विश्वद्यिालय संघीय सरकार वा प्रदेश सरकारले निर्धारण गरेका मापदण्डहरु पूरा गरी अरु क्याम्पसहरुलाई सम्बन्धन दिन नपाउने गरी संचालन हुने क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले बताए। स्थानीय, प्रदेश, राष्ट्रिय र अन्तर्राष्ट्रिय रोजगार बजारमा आवश्यक हुने दक्ष जनशक्ति उत्पादन गरिने उनले बताए। 

मानित विश्वविद्यालय बनेपछि संस्थाले समय सुहाउँदा र आवश्यकता अनुसारका छोटो तथा लामो अवधिका व्यवहारिक, व्यवसायिक तथा प्राविधिक पाठ्यक्रमहरु तयार गर्ने, परीक्षा सञ्चालन गर्ने र नतिजा प्रकाशन गर्न पाउन स्वायत्तता प्राप्त गर्ने डा. उपाध्यायले बताए। 

उनका अनुसार मानित विश्वविद्यालय स्वायत्त विश्वविद्यालय भन्दा संरचनात्मक तथा कार्यात्मक रुपमा केही फरक हुने र विश्वविद्यालयभित्र अन्य शैक्षिक संस्थाहरु तथा क्याम्पसहरु पर्न समेत सक्नेछन्। त्यसैगरी कार्यक्रमहरु छिटो छरितो रुप्मा सञ्चालन गर्न सकिने र उत्पादित जनशक्तिको व्यवस्थापन जिम्मेवारी पनि विश्वविद्यालयलाई हुनेछ। 

उनले विश्वविद्यालयले संचालन गर्ने शैक्षिक कार्यक्रमहरु ७० प्रतिशत प्राक्टिकल र ३० प्रतिशत सैद्धान्तिक हुने बताए।

मानित विश्वविद्यालयको अभ्यास

छिमेकी राष्ट्र भारतमा हालसम्म १२० मानित विश्वविद्यालय रहेका र नेपालमा यसको संख्या ४ रहेको छ। त्यसरी सञ्चालन भएका विश्वविद्यालयमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय विज्ञान प्रतिष्ठान, वीर हस्पिटल, काठमाण्डौ रहेका छन्।

मानित विश्वविद्यालय हुनका लागि कम्तीमा २५ बिगाहा जमिन हुनुपर्ने, स्थायी कोष ५० करोडको हुनुपर्ने, आवश्यक दक्ष प्राध्यापक तथा कर्मचारीको व्यवस्थापन हुनुपर्ने, उत्पादित जनशक्तिलाई उचित व्यवस्थापनमा सहयोग गर्नुपर्ने र भौतिक पूर्वाधारहरु निर्माण हुनुपर्ने प्रावधान छ।

मानित विश्वविद्यालय सम्बन्धी कानूनी व्यवस्था

राष्ट्रिय शिक्षा नीति २०७६ मा मापदण्ड निर्धारण गरी हाल सञ्चालनमा रहेका उच्च शिक्षा प्रदायक शिक्षण संस्थालाई स्वायत्त कलेजको रुपमा विकास गरिनेछ। 

त्यस्ता कलेजहरुमध्ये निर्धारित मापदण्ड पूरा गरेका तथा गुणस्तर प्रत्यायनमा अब्बल भएकाहरुलाई मानित विश्वविद्यालयको रुपमा विकास गरिनेछ भनिएको छ।
संघीय संसदले उच्च शिक्षा ऐन, २०७६ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा नेपाल सरकार, प्रदेश सरकार वा समुदायले ट्रष्ट स्थापना गरी नाफारहित मानित विश्वविद्यालयहरु स्थापना गर्न सक्नेछन् भनिएको छ। तर त्यस्तो मानित विश्वविद्यालयहरुले सम्बन्धन दिन सक्ने छैनन्।

प्रदेश सभाले प्रदेश विश्वविद्यालयको स्थापना, सञ्चालन, नियमन र व्यवस्थापन गर्न बनेको विधेयकमा मानित विश्वविद्यालय स्थापनाको बिषयमा पनि मानित विश्वविद्यालयमा व्यवस्था गरेको छ। उक्त विधेयकमा प्रदेश सरकार, कुनै पनि व्यक्ति वा समुदायले ट्ष्ट स्थापना गरी मानित विश्वविद्यालय स्थापना गर्न सक्नेछन्। तर त्यस्तो मानित विश्वविद्यालयहरुले सम्बन्धन दिनसक्ने छैनन् भन्ने उल्लेख छ। 


Leave a Reply

Your email address will not be published.