भारतीयलाई खुलेआम ‘वंशज’काे नागरिकता तर, छानबिन हुँदैन
प्रहरीले २०७५ मंसिर २८ गते जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने ३१ वर्षीय रोशनकुमार चौधरीलाई नियन्त्रणमा लियो।
रोशनले भाडा लिएर बस्दै आएको कोठाको खानतलासी गर्दा प्रहरीले नक्कली नागरिकता, राहदानी, विवाहदर्ता, मृत्युदर्ता, बसाइँसराइ लगायतका कागजातका साथै जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने स्ट्याम्प, लेटरप्याड, होलोग्राम, विभिन्न व्यक्तिको तयार पारिएको नागरिकता, नागरिकता अनुसूचीका फारम लगायत सामग्री बरामद गर्यो।
रोशनले दिएको बयानका आधारमा प्रहरीले त्यसैदिन जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहयोगी जनकपुरधाम–४ बस्ने ४२ वर्षीय महावीर मण्डल, रौतहटको दुर्गा भगवती गाउँपालिका–४ घर भई जनकपुरधाम–४ बस्ने हेमन्तकुमार पाण्डे्य र धनुषाको औरही गाउँपालिका–५ का वडा सदस्य रहेका ४९ वर्षीय गंगा साहलाई पक्राउ गर्यो।
उनीहरूसँग बयान लिँदै जाँदा नक्कली नागरिकता बनाउने गिरोहका थप तीनजना प्रहरीको फन्दामा परे। ती तीनैजना जिल्ला प्रशासन कार्यालय धनुषाका कर्मचारी थिए।
प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाका नासु भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी वीरेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको थियो।
नक्कली नागरिकता बनाउने गिरोह पक्राउ परे पनि त्यस्ता नागरिकताधारीहरू अझै खुलेयाम घुमिरहेका छन् भने नेपाली नागरिकले पाउने हरेक सुविधाको लाभ उठाइरहेका छन्।
पक्राउ परेका गिरोहका मानिसहरूले ठूलो संख्यामा नक्कली नागरिकता बाँडेको हुनसक्ने अनुमान गरिएको छ। तर, जिल्ला प्रशासन कार्यालयले चासो नदिएपछि त्यस्ता नागरिकताधारी कारबाहीको दायरामा आउन सकेका छैनन्।
नक्कली नागरिकता बाँड्ने गिरोहले ०६३ र ०७० सालमा खटिएका नागरिकता टोलीका अधिकृतको नक्कली हस्ताक्षर गरेको बताइएको छ। नागरिकता बाँड्न टोली खटेको १० वर्षभन्दा बढी भइसकेकाले यस अवधिमा सयौं नक्कली नागरिकता बनेको अनुमान गरिएको छ।
बावुको नेपाली नागरिकता नरहे पनि उसका छोराले ४० हजार खर्चेर वंशजको आधारमा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको रहस्य आयोमेलले खुलासा गरेको थियो।
भारतीय नागरिक रोशन ठाकुर भन्ने व्यक्तिले पनि पक्राउ परेको गिरोहबाट नागरिकता लिएको हुनसक्ने जिल्ला प्रशासन कार्यालय धनुषाले आशंका व्यक्त गरेको छ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि रोशन ठाकुरले लिएको नागरिकता पनि फर्जी रहेको स्पष्ट पारेका छन्।
‘कार्यालयको अभिलेख मिलान गर्दा नागरिकता फर्जी रहेको बुझिएको छ, उसलाई नियन्त्रणमा लिन प्रहरीलाई भनिसकेका छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।
उनले नागरिकतामा प्रयोग भएको प्रशासकीय अधिकृतको हस्ताक्षर पनि फर्जी रहेको बताए। प्रमुख जिल्ला अधिकारी निरौला नक्कली नागरिकता लिने जोकोही भए पनि कारबाहीको दायरामा आउने दाबी गर्छन्।
पक्राउ पर्नुअघि गिरोहका मानिसहरूले ठूलो संख्यामा नागरिकता बाँडेको उनको भनाइ छ। ‘उनीहरूले क–कसलाई नागरिकता बेचेका छन्, खोजबिन भइरहेको छ, हामी अनुसन्धानमा जुटेका छौं, चाँडै नतिजा आउँछ,’ उनले भने।
प्रमाण र कागजात पेश गरेर नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा लिखित उजुरी नै परेको छ। कतिपय उजुरी दर्ता भएको महिनौं बितिसक्दा समेत छानबिन हुनसकेको छैन।
प्रमुख जिल्ला अधिकारी निरौलाले फर्जी नागरिकतासम्बन्धी उजुरीहरू कार्यालयमा दर्ता भएको बताए। ‘फर्जी नागरिकतासम्बन्धी उजुरी कार्यालयमा दर्ता भएको छ,’ उनले भने, ‘अहिले मसँग त्यस्ता १८ वटा फाइल छन्, सबैको अनुसन्धान चलिरहेको छ।’