पूर्वडिआइजी कोइराला मुद्दाको पुनरावलोकनमा आज सुनुवाइ
सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला मुद्दाको पुनरावलोकनमा आज आइतबार सर्वाेच्च अदालतमा सुनुवाइको पेशी तोकिएको छ।
जन्मकैद सजाय काटिरहेका उनको मुद्दामा सर्वाेच्चले फैसला गर्दै ११ वर्ष कैद घटाइ दिएपछि उनी गत बिहीबार रिहा भएका थिए।
तर, सर्वोच्च अदालतको फैसलामा महान्यायाधीवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि पेशी तोकिएको हो।
कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौं जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो।
पूरक निवेदनमा सुनुवाइ हुने भएपछि उक्त मुद्दा पुनः विचारधीन बनेको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाउपर परेको पुनरावलोकन निवेदन अब तीन जना न्यायाधीशबाट सुनुवाइ हुनेछ।