पहिरो पन्छाउँदै गर्दा पहिरोमै बेपत्ता
पहिरो पन्छाउने क्रममा शनिबार राति स्काभेटर, टिपर र ट्याक्टर पुरिएका छन्। तीन सवारीसाधन मध्ये दुइटाका चालक बेपत्ता भएका छन्।
यो बागलुङको, बागलुङ नगरपालिका निरिहघाटको घटना हो।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी राजेन्द्र रेग्मीका अनुसार कच्ची बाटोमा केही दिन अघि पहिरो खसेको थियो।
स्काभेटर र टिपरको सहायताले पहिरो पन्छाइँदै थियो। तर, शनिबार राति फेरि पहिरो खसेको हो।
‘बाटोमा खसेको पहिरो पन्छाउने क्रममा फेरि पहिरो खसेको हो,’ डिएसपी रेग्मीले आयोमेललाई भने।
सम्पर्कविहीन भएका दुबै खोजीका लागि प्रहरी परिचालन भएको उनले जनाए।
टिपर चालक २७ वर्षीय निर्मल पुन र ट्याक्टर चालक २५ वर्षीय रोशन नेपाली रहेको रेग्मीले जानकारी दिए।
स्काभेटर चालक भने सम्पर्कमा आएकाे प्रहरीले जनाएकाे छ।