भोलिदेखि फेरि भारी वर्षा हुनसक्ने

भोलिदेखि फेरि भारी वर्षा हुनसक्ने

केही दिन थामिएको झरी फेरि सक्रिय हुने देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार मनसुनकाे न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक  हुने आकलन छ। याेसँगै अरब‍ सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना छ।

फलतः सोमबार रातिबाट तीन/चार दिन झरीको सम्भावना रहेको छ।

‘अहिले न्यून चापीय रेखा पश्चिममा औसतभन्दा तल र पूर्वमा औसतमा रहेको छ,’ महाशाखाका मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘न्यूनचापीय रेखा फेरि नेपाल प्रवेश गर्ने र यसले पूर्वदेखि पश्चिमसम्म नै वर्षाको सम्भावना छ।

महाशाखाले विशेष बुलेटिन नै जारी गरेर ‘तीन/चार दिनसम्म नेपालमा मनसुन सक्रिय हुने र देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ।

झरीका कारण नदीखोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक यातायात प्रभावित हुने तथा ढल-पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

नेपालमा गत जेठ ३० गते मनसुन भित्रिएकोमा असार अन्तिम साता र साउन पहिलो साता गरी दुई पटक भारी वर्षा हुनुका साथै बाढीपहिरोका घटना भएका छन्।


Leave a Reply

Your email address will not be published.