स्थानीय तहमा बढ्दो भ्रष्टाचार, अख्तियारमा उजुरीका चाङ

स्थानीय तहमा  बढ्दो भ्रष्टाचार, अख्तियारमा उजुरीका चाङ

घटना १

असारमा जिल्ला खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्लसहित ४ जनालाई अख्तियार दुरुपयोग अनसुन्धान आयोगको कार्यालय सुर्खेतले नियन्त्रणमा लियो।

तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस रकम माग गरेको आरोपमा कार्यालय प्रमुखसहित सव–इन्जिनियर वीरेन्द्र चन्द, सव–इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई आयोगको कार्यालयले घुस रकमसहित नियन्त्रणमा लिएको थियो। कार्यालय प्रमुख मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रुपैयाँ नगद बरामद भयो।

घटना २

गत असारमै अख्तियारले जिल्ला हुलाक कार्यालय दैलेखका तत्कालीन प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्‌यो। 

जिल्ला हुलाक दैलेखका तत्कालीन प्रमुख अमरबहादुर मल्ललगायत नायब सुब्बा, सहायक कम्प्युटर अपरेटर, लेखापालहरू र कोष तथा लेखा नियन्त्रक कार्यालयका तत्कालीन कोष नियन्त्रक शुभाखर न्यौपाने र लेखापालविरुद्ध अख्तियारले कुल १२ करोड ७१ लाख बढीको बिगो दाबी गरी मुद्दा प्रक्रिया अघि बढायो।
अतिरिक्त हुलाक कार्यालयमा कर्मचारी नियुक्त गर्दा र भवन निर्माणका लागि ठेक्का आह्वान गर्दा अनियमितता गरेको अभियोगमा उनीहरूमाथि मुद्दा दायर गरिएको थियो।

घटना ३

दैलेखको डुंगेश्वर गाउँपालिका–५ स्थित पिपल चौतारा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र सोही वडाका वडासदस्यविरुद्व अख्तियारले आरोपपत्र दायर गर्‌यो। उनीहरूलगायत अन्य चारजनाले विद्यालयमा प्रश्नपत्रको गोपनीयता भंग गरेको अख्तियारको आरोप थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा आएका उजुरीको संख्यात्मक विवरण केलाउँदा कर्णालीमा स्थानीय तहमा हुने गरेको भ्रष्टाचारको अवस्था निकै भयावह देखिन्छ। 

चाहे कर्मचारी नियुक्ति प्रक्रिया होस् या विकासे कार्यक्रमहरू, भ्रष्टाचार तथा अनियमितताले सबै क्षेत्रलाई घेरा हालेर बसेको छ।

आर्थिक वर्ष २०७६÷७७ मा कर्णालीका स्थानीय तहहरूमा हुने गरेक भ्रष्टाचारका विषयलाई लिएर कुल ५ सय ५४ उजुरी अख्तियारको कार्यालयमा परेको छ। 

जसमध्ये दैलेख जिल्लामा रहेका स्थानीय तहहरूको उजुरीको संख्या धेरै छ। दैलेख जिल्लाका स्थानीय तहहरूबाट सेवा प्रवाहका समयमा भएका भ्रष्टाचार तथा अनियमितताका एक सय १८ वटा उजुरी परेको अख्तियार सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए। 

त्यसमा नारायण नगरपालिकाका १४ उजुरी, दुल्लु नगरपालिकाका ९, आठबिस नगरपालिकाका १२, चामुण्डा विन्द्रासैनी नगरपालिकाका १९ र गुराँस गाउँपालिकाका १० वटा उजुरी कार्यालयमा दर्ता भएका छन्। 

यसैगरी डुङ्गेश्वर गाउँपालिकाका ८, भगवतीमाई गाउँपालिकाका ७, नौमुले गाउँपालिकाका १४, महाबु गाउँपालिकाका १७, भैरवी गाउँपालिकाका ५ र ठाँटीकाँध गाउँपालिकाका ३ उजुरी अख्तियारमा दर्ता भएका छन्। अख्तियारको कार्यालयमा आएका दैलेखका १ सय १८ वटा उजुरीमध्ये ७८ वटा उजुरी फस्र्योट भइसकेको छ।

स्थानीय तहमार्फत सेवा प्रवाह समयमा सुर्खेतका स्थानीय तहको ९१ वटा उजुरी कार्यालयमा आएका छन्। कालीकोटका ६२, सल्यानका ४७, मगुका ४७, डोल्पाका २२, जुम्लाका ४४, रुकुम (पश्चिम) का ४६, हुम्लाका ३२ र जाजरकोटका ६७ वटा उजुरी स्थानीय तहसँग जोडिएका छन्।

भेरीगंगाका धेरै उजुरी

अख्तियारको सुर्खेत कार्यालयमा भेरीगंगा नगरपालिकाको धेरै उजुरी परेको छ। कर्णाली प्रदेशका सबै स्थानीय तहमध्ये भेरीगंगा नगरको सेवा प्रवाहका समयमा भएको अनियमितता र भ्रष्टाचारका उजुरी सबैभन्दा धेरै छ।

भेरीगंगा नगरपालिकाको २५ वटा उजुरी परेको छ। ११ उजुरी फस्र्योट भइसकेको छ भने १४ उजुरी अझै बाँकी रहेको जनाइएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका सम्बन्धमा २३ उजुरी अख्तियारको कार्यालयमा परेका छन्। त्यसमध्ये ११ उजुरी फस्र्योट भइसकेको छ भने १४ उजुरी बाँकी रहेको अख्तियार कार्यालयले जनाएको छ।

कर्णालीका स्थानीय तहका उजुरी विवरण

 


Leave a Reply

Your email address will not be published.