मास्क प्रयोगमा कडाइ गर्न गृहको निर्देशन
लकडाउन अन्त्यसँगै जनजीवन खुला भएपछि सरकारले मास्कको प्रयोगलाई थप कडा बनाउन प्रशासन तथा प्रहरीलाई निर्देशन दिएको छ।
संक्रमण दर बढिरहेको र मास्कको प्रयोग घटिरहेको भन्दै गृहमन्त्रालयले मातहतका सबै निकायलाई कडारुपमा प्रस्तुत हुन निर्देशन दिएको हो।
मन्त्रालयले आइतबार सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई पत्राचार गर्दै मास्क नलगाउनेविरुद्ध कडारुपमा प्रस्तुत हुन भनेको छ।
मन्त्रालयका सूचनाअधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाएर सार्वजनिकरुपमा हिँड्नेहरुलाई पक्राउ गर्न भनिएको छ। यद्यपि गृहले मास्क नलगाउनेलाई पक्राउ गर्न यसअघि नै आदेश दिएको थियो। त्यसलाई थप कडाइका साथ लागु गर्न निर्देशन दिइएको उनले बताए।
उनका अनुसार यो नियम उल्लघंन गर्नेलाई संक्रामक रोग ऐन २०२०अनुसार कारबाही हुन्छ।