लकडाउन खुलेसँगै धार्मिकस्थलमा चहलपहल

लकडाउन खुलेसँगै धार्मिकस्थलमा चहलपहल

सरकारले कोरोना भाइसर रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनका कारण लामो समयसम्म बन्द रहेका जिल्लाका धार्मिकस्थलहरुमा चहलपहल सुरु भएको छ। कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि सरकारले लकडाउन हटाएसँगै धार्मिक स्थलहरूमा चहलपहल बढ्न थालेको हो।

लकडाउनका कारण करिब तीन महिना बढी समयसम्म सुनसान रहेका पाण्डवेश्वर महादेव मन्दिर धारापानी, गोरक्ष सिद्ध रत्ननाथ मन्दिर चौघेरा, अम्बिकेश्वरी मन्दिर अम्बापुर, बाह्रकुने दहलगायतका मठमन्दिरहरूमा चहलपहल बढेको छ। 

लकडाउनका कारण लामो समयदेखि सुनसान रहेको घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा लकडाउन हटेसँगै मन्दिरमा भक्तजन तथा दर्शनार्थीहरु बढ्न थालेको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आर्चायले बताएका छन्। कोरोना भाइरसको त्रासका कारण विगतको वर्षहरूमा जस्तो साउन महिनामा मानिसहरू मन्दिरमा नआएको उनी बताउँछन्।

‘लकडाउन हटेसँगै मान्दिरमा पनि चहलपहल बढेको छ,’ सचिव आचार्यले भने, ‘सामाजिक दुरी कायम गरेर मन्दिरमा पुजापाठका लागि आउने गरेका छन्।’ सचिव आचार्यका अनुसार मन्दिर व्यवस्थापन समितिले मन्दिर पुँजापाठ तथा घुमफिरका लागि भक्तजन तथा दर्शनार्थीहरूका लागि अनिवार्य मास्कको व्यवस्था गरेको छ। 

‘मन्दिर पुजापाठ तथा घुमफिरका लागि आउनेहरुलाई मास्क लगाएर मात्र गेटभित्र प्रवेश गर्न दिने गरेका छौँ,’उनले भने, ‘मन्दिरमा घुमफिरका लागि आउने मानिसहरूलाई सामाजिक दुरी कायम गरेर सकेसम्म आफ्नो ग्रुपभन्दा अर्को ग्रुपमा नजानसमेत आग्रह गरिरहेका छौँ।’

विश्वकै अग्लो त्रिशुल राखिएको स्थान धारापानीमा साउन महिनामा महादेवको पूजापाठसँगै अग्लो त्रिशुल, मन्दिर, एक सय ८ गौमुखीधारा, लभपार्क, पोखरीलगायतका रमणीय पार्कहरु हेर्नका लागि समेत दर्शकहरू जाने गरेका छन्।

धारापनीसँगै घोराही उपमहानगरपालिका- १७ मा रहेको गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ चौघेरामा समेत चहलपहल सुरु भएको छ। लकडाउनका कारण तीन महिना बढि समयसम्म सुनसान रहेको चौघेरा मन्दिरमा लकडाउन खुलेसँगै मन्दिरमा दर्शन तथा घुम्नका लागि भक्तजनहरु आउन थालेको मन्दिर व्यवस्थापन समितिका सचिव हिरानाथ योगीले जानकारी दिएका छन्। 

‘लामो समय बन्द रहेको मन्दिर लकडाउन खुलेसँगै चहलपहल हुन थालेको छ’, सचिव योगीले भने, ‘सामाजिक दुरी कायम गरेर भक्तजन मन्दिरमा आउने गरेका छन्।’ 

उनकाअनुसार मन्दिरमा आउने अधिकांशले मास्क लगाउने गरेको छन्। कोरोनाको त्रास भए पनि धार्मिक आस्थाका मानिसहरु मन्दिरमा पुजापाठ तथा दर्शनका लागि आउने गरेका छन्। उनका अनुसार गोरखनाथको पूजापाठसँगै घुम्न, मन्दिरमा रहेको करिब १३ सय वर्ष पुरानो कुवाँ, पुरानो रूख, मठमा रहेका पुस्तक अध्ययन तथा योगी प्रभातनाथले बनाएका चित्रकलाहरु अध्ययनका लागि चौघेरा मन्दिर आउने गरेका छन्।

त्यसैगरी घोराही उपमहानगरपालिका–१८ मा रहेको अम्विकेश्वरी मन्दिरमा समेत चहलपहल सुरु भएको छ। पुनर्निमाण गरिएको अम्विकेश्वरी मन्दिरमा कोरोनाका कारण लामो समय बन्द रहेको मन्दिरमा चहलपहल बढेको छ। यसैगरी घोराही उपमहानगरपालिका-. १३ को बाह्रकुने दहमा समेत चहलपहल बढ्न थालेको छ। बाह्रकुने मन्दिरसँगै ज्यामिरे दहको दृश्यअवलोकनका लागि घोराही बजारलगायतका ठाउँहरुबाट मानिसहरु घुम्न जान थालेका छन्।


Leave a Reply

Your email address will not be published.