टिकटकमा बिहे गरेर अमेरिका लैजान्छु भन्ने दुई युवती यसरी पुगे प्रहरी खोरमा 

टिकटकमा बिहे गरेर अमेरिका लैजान्छु भन्ने दुई युवती यसरी पुगे प्रहरी खोरमा 

विश्वव्यापी कोरोना संक्रमणले नेपालमा पनि चार महिना लामो लकडाउन भयो। अझै लकडाउन पूर्णरूपले खुलिसकेको छैन। 

यसबीचमा परेको आर्थिक समस्या टार्न मानिसहरू अपराधजन्य कार्यमा संलग्न हुन थालेका छन्। 

प्रहरीका अनुसार आर्थिक समस्या धान्न विभिन्न खालका अपराध देखिन थालेका छन्। तीमध्ये एउटा प्रमुख अपराध अहिले ठगी रहेको छ। 

केही दिनअघि एक ३० वर्षीय युवाले आफ्नो आर्थिक समस्या छल्न अपहरणमा परेको अभिनय गरे। 

काठमाडौं-४ चुनदेवीका ती युवा शक्तिराज रेग्मी अहिले महानगरीय प्रहरी परिसरको हिरासतमा छन्। उनलाई खोजी गर्ने क्रममा बसपार्कस्थित सुगन्ध होटलबाट मंगलबार राति महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। 

उनले अपहरणको अभिनय गर्दा प्रहरीले कम्ती हैरानी पाएको थिएन। 

उक्त घटनालगत्तै राजधानीकै एक व्यक्तिले अपराध महाशाखालाई अपहरणमा परेको भनी दु:ख दिन खोजे। प्रहरीले तुरुन्तै पक्राउ गर्न टोली परिचालन गरेको थाहा पाउनेबित्तिकै ती व्यक्तिले बोली फेरेर कुनै घटना नभएको भनी टारे। 

अपराध महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाका अनुसार लकडाउन खुलेपछि आर्थिक कारोबार मिलाउन तथा समस्याबाट पार पाउन मानिसहरू अनेक अपराधजन्य कार्यमा सामेल भइरहेका छन्।
 
यस क्रममा साउन ९ गते दुई युवतीलाई अपराध महाशाखाको टोलीले बुटवलबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाग्लुङ काठेखोला गाउँपालिका-२ घर भई हाल भक्तपुर सूर्यविनायक रोजभिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र र १९ वर्षीया अमिसा केसी छन्। 

फेसबुक तथा टिकटकमार्फत युवालाई फलो गर्ने र आफू डिभी परेको युवती भन्दै उनीहरूले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिबाट ६ लाख ६० हजार ठगेको खुलेको छ। दुवैलाई कारबाहीको लागि महानगरीय प्रहरी वृत्त ठिमी पठाइएको छ। 

अनुसन्धानअनुसार कोपिलाले टिकटक र फेसबुकमा युवालाई फलो गर्थिन्। साथीका लागि अनुरोध पठाउने र म तपाईंको फ्यान हो भनी स्वीकार गर्न लगाउँथिन्। सो कार्यमा अमिसाले सहयोग गरिरहन्थिन्।

कोपिलाले आफूलाई डिभी परेको र हाल लकडाउनले नेपालमा बसोबास गर्दै आएको बताउँथिन्। 

नेपालमा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने, सो सञ्चालन गर्ने पैसा आवश्यक परेको र पार्टनर बनाउने भनी पटक-पटक गरी ५ लाख ठगी गरेकी थिइन्।

शर्माले आफ्नो बुबाको समेत फेक आइडी बनाएर ढुकुटीको पैसा तिर्ने बहानामा ठगी गर्ने गरेको खुलेको छ।

आफू अमेरिकाको डिभी होल्डर बताएर विश्वासमा पारी भक्तपुरकै एक पीडितको छोरीसँग मितेरी लगाएर अमेरिका लैजान्छु भन्दै उलले १ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेको छ।

उनले फिल्म क्षेत्रका व्यक्तिहरूलाई समेत कुराकानी गरी आफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी  ठगी गर्ने खोजेको पाइएको छ। 

अपराध महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार उनीहरू लकडाउनअघि बुटवल पुगेका थिए। लकडाउनले अड्किएपछि त्यहीँ बसेर ठगीमा सक्रिय भए।

लकडाउनअघि उनीहरू काठमाडौं, भक्तपुर र पोखरासम्म पुग्थे। ‘रोजभिलेजमा बसी उच्चस्तरको जीवन देखाएर ठगी कार्यमा सक्रिय भएको खुलेको छ,’ कार्कीले भने, ‘उनीहरूले ठगी गरेका मानिसहरूको सूची आउने क्रममा छ। धेरै मानिसलाई ठगेको शंका गरिएको छ।’


Leave a Reply

Your email address will not be published.