तुलसीपुरमा घरमै सिकाउन कार्यमुलक पुस्तिका

तुलसीपुरमा घरमै सिकाउन कार्यमुलक पुस्तिका

कोभिड १९ को संक्रमणका कारण घरमै बसिरहेका बालबालिकाहरूलाई स्वअध्ययन गराउनका लागि तुलसीपुर उपमहानगरपालिकाले कार्यमुलक पुस्तिका तयार गरेर वितरण गरेको छ। 

विद्यार्थीहरूलाई घरमै अभिभावकले सिकाउन सक्ने गरी यस्तो पुस्तिका तयार पारेर वितरण गरिएको शिक्षा महाशाखाका शाखा अधिकृत चक्र भण्डारीले जानकारी दिए। उनका अनुसार बाल विकास कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई लक्षित गरेर यस्तो पुस्तक प्रकाशन गरिएको हो। 

कक्षा अनुसार सबै विषयको एउटै पुस्तकमा अध्ययन गर्न सकिने गरी पुस्तक तयार पारिएको पनि उनले जानकारी दिए। 

महाशाखा प्रमुख भाष्कर गौतमले वैकल्पिक सिकाइ विधिका बारेमा अध्ययन गरेर रेडियो, टेलिभिजन लगायतका साधनको पहुँचमा नभएका विद्यार्थीहरूलाई यस्तो पुस्तक वितरण गरिएको जानकारी दिए। 

‘उपमहानगरपालिका भित्रका २१ प्रतिशत विद्यार्थीहरूले कुनै पनि वैकल्पिक माध्यमको प्रयोग नगर्ने भएकाले यस्तो पुस्तक वितरण गरिएको हो,’ शाखा प्रमुख भाष्कर गौतमले भने।  उनले ५४ विद्यालयका ४ हजार वढि विद्यार्थीहरूलाई यस्तो पुस्तक वितरण गर्न लागिएको पनि जानकारी दिए।

पुस्तक लगेर अभिभावकले सहजिकरण गरेर पनि पढाउन सकिने खालको भएको वताउँदै गौतमले त्यसै घरमा बसेका बालबालिकाका लागि निकै उपयोगी हुने कुरामा जोड दिए। 

शिक्षा समिति संयोजक देवराज विकले विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा पुस्तक निकै फलदायी सावित हुने उनले बताए। उनले बालबालिकालाई घरमै बसेर पढ्ने बातावरण सृजना गर्नका लागि रेडियोबाट समेत अध्यापन गराइरहेको जानकारी गराए। शाखा अधिकृत चक्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालय निरिक्षक मानवहादुर खड्काले गरेका थिए।


Leave a Reply

Your email address will not be published.