किनबेच छैन, सुनको भाउ लाख
अहिले न बिहेको सिजन छ न उपभोक्तासँग पर्याप्त पैसा। कोरोना संकटमा रोजगारी गुमिरहेको छ। यसबाट कमाइ घटेर उपभोक्ताको उपभोग खर्च पनि कटौती भएको छ। नारीहरूको चाड तीज नजिकिँदै छ, तर सुनचाँदी पसल लगभग सुनसान छन्।
न माग छ न सुन पसलमा उपभोक्ताको भीड, तै पनि बजारमा सुनको भाउ हरेक दिन बुर्कुसी मारिरहेको छ।
कोरोना संक्रमणका डरले ‘लकडाउन’ हुनु एक दिन अघि २०७६ चैत १० मा स्थानीय बजारमा छापावाल सुनको भाउ तोलाको ७७ हजार रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउन अवधिभर सुनको भाउ तोक्नै छाड्यो।
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याएको १५औं दिन (जेठ २५) पुग्दा सुनको भाउ १० हजार ४ सय रुपैयाँ बढिसकेको थियो। त्यसबेला महासंघले सुनको भाउ ८७ हजार ४ सय रुपैयाँ कायम ग-यो।
त्यसयता दिनहुँजसो सुनको भाउ उकालो लागेको लाग्यै छ। उकालो पनि यसरी लागिरहेको छ कि एक तोला सुन किन्न झन्डै–झन्डै १ लाखको बिटो बुझाउनुपर्ने अवस्था आइसकेको छ। यो हालसम्मकै कीर्तिमानी मूल्य हो।
आज आइतबार सुनको भाउ ५ सयले बढेर ९६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ। जबकि, गएको शुक्रबार एकै दिन १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो।
नेपाली बजारमा सुनको भाउ एक वर्षमै ३१ हजार ८ सय रुपैयाँ महँगो भएको छ। २०७६ साउन १ गते सुनको भाउ ६४ हजार ५ सय थियो। यसको ठ्याक्कै एक वर्षपछि चालू साउन १ आइपुग्दा सुन तोलाको ९६ हजार ३ सय रह्यो।
आर्थिक वर्ष २०७५/७६ मा सुन तोलामा ७ हजार ५ सयमात्र बढेको थियो। जबकि, २०७७÷७८ सुरुवातको ११ दिनमै भाउ ३ हजार ६ सय रुपैयाँले उकालो लागेको छ।
नेपालमा सुनको भाउ कहाँ पुग्ला?
आयोमेलको प्रश्न सुनेपछि सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर वज्राचार्यले भने– ‘संकेत सुखद छैन। नेपालमा अहिले सुनको व्यापार शून्यजस्तै छ, माग बढ्ने सम्भावना पनि छैन तर भाउले एक लाख त छुन्छ नै।’
किन बढ्दै छ भाउ?
जब–जब विश्व अर्थतन्त्रमा उतारचढाव आउँछ तब सुनको भाउ आकासिन्छ। शक्ति राष्ट्रले लिने नीतिले पनि सुन बजारलाई डो-याउँछ। सन् २०१८ मार्चमा अमेरिकाले चिनियाँ सामग्री आयातमा २५ प्रतिशत भन्सार महसुल कायम गर्दा होस् वा केही महिनाअघि अमेरिका र इरानबीचको तनाव। यी दुवैले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ रातारात बढाए। त्यसबाहेक द्विदेशीय, क्षेत्रीय व्यापार युद्ध, तनावले पनि बहुमूल्य पहेँलो धातुको बजारमा उतारचढाव ल्याउने गरेको छ।
फाइन्यान्सियल टाइम्सले लेखेअनुसार चीन–अमेरिका व्यापार युद्धको पहिलो चरणमा सुनको भाउ ०.१ प्रतिशतले बढेको थियो।
अहिले भाउ बढ्नुमा मख्य कारणमा कोरोना भाइरस संक्रमणलाई लिइन्छ। यो प्रतिकूल अवस्थामा अन्यत्र लगानीयुक्त वातावरण नरहेको ठानेपछि शक्ति राष्ट्रमा सुन बजार उर्लिएको छ।
अहिले ठूला मुलुकका केन्द्रीय बैंकहरूले ब्याज दर नीति फेरबदल गरेका छन् भने ठुल्ठूला कम्पनीका सेयर मूल्यमा पनि गिरावट आएको छ। यो अवस्थामा लगानी असुरक्षित ठानिन्छ एवं महँगी बढ्ने र रोजगारी गुम्ने, लगानीका नयाँ अवसर पैदा नहुनेलगायत जोखिम बढ्छन्।
‘यस्तो बेला सुनमा लगानी बढ्नु स्वाभाविक हो किनकि विश्व बजारमा सुनलाई सुरक्षित लगानीका रूपमा लिइन्छ,’ महासचिव वज्राचार्य भन्छन्, भन्छन्, ‘अमेरिकी केन्द्रीय बैंक (फेडेरल रिजर्भ) ले बन्ड रकममा दिँदै आएको ब्याज दर घटाइदिँदा सुनमा लगानी र भाउ सँगसँगै बढेको हो।’
अन्तर्राष्ट्रिय बजारमा आइतबार बिहान सुन प्रतिऔंस १ हजार ९ सय १ दशलमल ६० डलरमा किनबेच भयो। जबकि, यसअघि गत शुक्रबार १ हजार ८ सय ८८ दशमलव ३० डलर पुगेको थियो।
बेलायतको ग्लोबल इन्भेस्टमेन्ट स्टाट्रेजिस्ट नामक सवेक्षणले अर्को वर्ष २०२१ जनवरीसम्म सुनको भाउ प्रतिऔंस २ हजार डलर नाघ्ने प्रक्षेपण गरेको छ। यसरी अन्तर्राष्ट्रिय बजारमा सुन झनै उकालो लाग्दा नेपालमा भाउ १ लाख नाघ्ने अनुमान गरिएको हो।
नेपाली सुन बजार ठूलो छैन। तर, भारत र हङकङको बजारमा हुने सुनको माग र आपूर्तिले पनि नेपालमा असर गर्ने वज्राचार्य बताउँछन्।
महासंघका अनुसार सामान्य अवस्थामा नेपालमा दैनिक १० किलो सुन बिक्री हुन्छ। अहिले बढ्दो मूल्यका कारण बजारमा मन्दी रहेको वज्राचार्य बताउँछन्।
केही वर्षअघिसम्म नेपालमा वार्षिक १४ हजार किलोसम्म सुन खपत हुने गरेको थियो। पछिल्ला वर्ष बजार खस्केको महासंघको भनाइ छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा ११ अर्ब ९६ करोड ८० लाखबराबरको सुन भित्रिएको छ। सुनको अबैध बजारको प्रसंग छुट्टै छ।
‘नेपालीसँग आयस्रोत धेरै छैन। सुनको भाउ धेरै माथि पुगिसक्यो,’ महासचिव वज्राचार्य भन्छन्, ‘अचाक्ली भाउ बढ्दा हामी व्यवसायीलाई नै उल्टो घाटा भइरहेको छ।
भन्सार दरले कति फरक पार्छ?
सुनको भाउ अन्तर्राष्ट्रिय बजारले नै तय गर्छ। तर, स्थानीय बजारमा केही हदसम्म सरकारका नीतिले पनि फरक पार्छ।
सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत प्रति १० ग्राम सुनमा २ हजार रुपैयाँ भन्सार दर थप गरेर ८ हजार ५ सय पु-यायो। बजेटताका लकडाउन थियो, महासंघले सुनचाँदीको भाउ तोक्न बन्द गरेको थियो।
तर, महासंघले जेठ २५ गते भाउ तोक्दा कम्तिमा १० ग्राम सुनका लागि थप २ हजार रुपैयाँ भाउ बढ्यो। त्योबाहेक अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य यथावत छ।
भन्सार शुल्क, बैंकको होल्डिङ शुल्कलगायत खर्च छाड्दा अहिले सुनकोे वास्तविक भाउ ८५ हजारहाराहारी रहने वज्राचार्य बताउँछन्।
गत वर्ष चैत १६ को मन्त्रिपरिषद बैठकपछि बैंकहरूले दैनिक १० किलोमात्रै सुन आयात गर्न पाउने व्यवस्था कार्यान्वयनमा आएको थियो। यो व्यवस्था कोरोना संकटका कारण कायम गरिएको हो।
नेपालमा सुन आयात गर्न राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मात्र अनुमति दिएको छ।