ओझा पक्षधर भन्छन्- आरजुको राजनीति सफल हुन दिन्नौं
पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा कैलालीका प्रभावशाली नेता मानिन्छन्। ओझालाई कांग्रेसको अनुशासन विभागले कारबाही गरेपछि जिल्लामा माहोल तातेको छ।
कतिपयले ओझाको पक्षमा बोलिरहेका छन् भने कतिपयले विपक्षमा। जिल्लामै रहेर लामो समयदेखि राजनीति गरिरहेकाले उनको पक्षमा बोल्नेको संख्या बढ्दै गइरहेको छ।
उनलाई कारबाही गरेसँगै कैलाली कांग्रेसमा प्रष्ट रुपमा दुई कित्ता देखिएको छ। कैलाली जिल्लाका कांग्रेस नेताहरू मात्र नभएर जिल्ला कमिटीकै अधिकांश नेता ओझाको पक्षमा लबिङ गर्दै कारबाही फिर्ताहुनुपर्ने माग गर्न थालेका छन्।
ओझालाई पार्टीका आधिकारिक उम्मेदबार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारबाहीको माग गर्दै उजूरी परेको थियो। त्यही उजुरीका आधारमा उनलाई ५ वर्षका लागि पार्टीबाट निष्कासित गरिएको थियो।
ओझालाई करबाही गरेपछि कडा संघर्ष गर्ने चेतावनी दिएका उनी पक्षका नेताले आरजुको धनगढीमा राजनीति सफल हुन नदिने चेतावनीसमेत दिनथालेका छन्। नेपाली कांग्रेस कैलालीका सचिव पूर्ण कुँवरले कांग्रेसले पार्टीमा अन्याय भएको प्रतिकृया दिएका छन्।
आयोमेलसँग कुरा गर्दै उनले भने, 'कैलालीमा नेता नै छैन भन्ने जसरी बाहिरबाट मान्छे टिपेर ल्याउने प्रवृति भयो। त्यसका विरुद्ध नै हाम्रो बिमत्ति थियो। कैलालीमा त्याग गरेका नेताहरू पनि छन्। सबैलाई बाइपास गरेर श्रीमति, छोरा, भतिजाका लागि सिट बनाउने हो भने हामी के सधै झोला मात्रै बोकिराख्ने।'
'राष्ट्रिय राजनीतिमै असर गर्छ। पुष्कर ओझा विचार हो। कांग्रेसमा विपीको सिद्धान्त बोक्नेलाई निकालियो। कारबाही पार्टीले नभइ जनताले गर्ने हो। अब आर्जु देउवालाई धनगढीमा आएर राजनीति गर्न गाह्रो हुनेछ। हाम्रो सधै असहयोग रहन्छ।', उनले भने।
नेपाली कांग्रेस कैलालीका उपसभापति प्रकाश बमले पार्टीको अनुशासन उल्लंघन गर्ने पुष्कर मात्रै नभएको बताए। जिल्ला सभापति नरनारायण शाह मनु जिल्ला वाहिर रहेका वेला कार्यवहाक सभापतिको जिम्मा पाएका प्रकाश बमले केन्द्रको कारबाही सिफारिसलाई सहमति गर्दै अनुमोदन गर्ने तर अरुको पनि छानविन हुनपर्ने बताए।
'केन्द्रले ओझालाई स्पष्टिकरण सोद्धा मैले असहयोग गरेको हो भनेर स्पष्टिकरण दिएको र रामचन्द्र पौडेल आउँदा आयोजित एक समारोहमा मैले असहयोग गरेको हो भनेर भाषण गर्नुभएको अडियो रेकर्ड छ,' उनले भने, 'अरु उपाए नै थिएन। भोलि बैठक छ। अब के हुन्छ हेरौं। केन्द्रले गरेको कारबाहीमा हाम्रो समर्थन हुन्छ।'
सचिव कुँवरले त ओझालाई पार्टीबाट निष्कासित गरेपछि अन्याय सहिन्न भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटससमेत लेखेका छन्। धनगढीमा आयातित मान्छेलाई ल्याउन ओझामाथि कारबाही गरिएकाले फिर्ता हुनुपर्ने माग पनि गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणा देउवालाई धनगढीमा स्थापित गर्ने उद्देश्यले ओझालाई कारबाही गरेको कांग्रेस कैलालीका सचिव कुँवरले बताए ।