निर्माण नसकिँदै भत्कियो जनकपुर–जलेश्वर सडक

निर्माण नसकिँदै भत्कियो जनकपुर–जलेश्वर सडक

जनकपुर–जलेश्वर सडकको निर्माणको काम नसकिँदै भत्किन थालेको छ।

कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम भएपछि हुलाकी सडकअन्तर्गत रहेको जनकपुर–जलेश्वर सडक भत्किन थालेको हो।

कालोपत्रे गर्ने काम नसकिँदै सडकको छेउ, कल्भर्ट र पुल भत्किन थालेको छ। सडकको दर्जनौं स्थानमा भ्वाङ परेका छन् भने छेउको माटो भासिएको छ। कतिपय स्थानमा कल्भर्टको जगसमेत भत्किएका छन्।

सडकमै गहिरो खाल्टो परेपछि सवारी साधन आवागमनसँगै पैदलयात्रुलाई पनि समस्या भइरहेको छ।  

सडक निर्माणमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले पटक–पटक कामसमेत अवरुद्ध गराएका थिए। तर, काम अगाडि बढाइयो। अहिले आएर सडक भत्कन थालेको छ।

ठेकेदार र सरकारी निकायकोे मिलेमतोमा सडक निर्माणमा गुणस्तरहीन काम भएको स्थानीय आशुतोष झाको आरोप छ। 

छेउकै खेत खनेर माटो बिछ्याएकाले सडक कमजोर भएर भासिन थालेको उनको ठम्याइ छ। 

नेकपा प्रदेशसभा सदस्य मञ्जु यादवले पनि सडक निर्माणमा ठेकेदारले बदमासी गरेको आरोप लगाइन्। तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारकै लापरबाहीका कारण अझै निर्माणाधीन अवस्थामा रहेको उनले बताइन्।

महोत्तरीको जलेश्वर नाका र जनकपुर जोड्ने व्यापारिक तथा धार्मिक मार्गका रूपमा रहेको सडक निर्माणमा गुणस्तरहीन काम भएपछि सडकको आयुबारे स्थानीयबासीले शंका व्यक्त गर्न थालेका छन्।

भारतबाट मालसामान आयात–निर्यातका साथै भारतीय पर्यटक भित्रिने जनकपुर–जलेश्वर सडकको काम हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरको निगरानीमा भइरहेको छ।

योजना कार्यालयका प्रमुख राजेन्द्रप्रसाद दास सडक निर्माण कार्य अझै पूरा भइनसकेकाले क्षति भएको जस्तो देखिएको बताए। ‘सडक निर्माणमा कमसल सामग्री प्रयोग भएको छैन, सम्झौताअनुसार निर्माण कम्पनीले काम गरिरहेको छ,’ उनले दाबी गरे, ‘अहिले पनि काम भइरहेको छ, कमसेकम एक लेन तयार गरेर पनि सडक सञ्चालन गर्न हामी लागिपरेका छौं।’ 

स्लोप तयार पार्ने र घाँस लगाउने काम बाँकी नै रहेकाले वर्षातमा क्षति भएको देखिएको बताउँदै उनले सबै काम पूरा भइसकेपछि यस्तो अवस्था नरहने दाबी गरे।
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ०७३ भदौ २५ गते सडकको शिलान्यास गरेका थिए। यो सडक ९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको छ।

सडक निर्माणका लागि जनकपुरदेखि महोत्तरीको पर्सासम्म प्रतिभा वाई जेभीले ४३ करोड ५६ लाखको ठेक्का पाएको छ। त्यसैगरी महोत्तरीको पर्सादेखि भिट्टामोडसम्म आतिश–पप्पु रोशन जेभीले ४९ करोड ८९ लाखको ठेक्का लिएको छ। 

जनकपुर–भिट्टामोड चार लेनको सडक निर्माण गर्न दुवै निर्माण कम्पनीले ०७३ भदौ २३ गते सम्झौता गरेको थियो। सम्झौता भएको तीन वर्षभित्र निर्माण कार्य पूरा गर्नुपर्ने भए पनि सडक अझै निर्माणाधीन अवस्थामा छ।
 


Leave a Reply

Your email address will not be published.