युभेन्ट्स च्याम्पियन, राेनाल्डाेले भने- उपाधि समर्थकलाई

युभेन्ट्स च्याम्पियन, राेनाल्डाेले भने- उपाधि समर्थकलाई

इटालीको सिरी 'ए' उपाधि फेरि एकपल्ट युभेन्ट्सले जित्नेछ, त्यसमा कुनै शंका थिएन।

बरू शंका केमा थियो भने यसपल्टको फुटबल सिजन इटालीमा पूरा हुनेछ वा छैन भनेर।

आखिरमा त्यहाँको माथिल्लो डिभिजनको लिग फुटबल सकिने संघारमा पुगेको छ।

त्यसको दुई चरणका खेल हुनअगाडि नै युभेन्ट्सले उपाधि जित्न सफल रह्यो। त्यो पनि लगातार नवौंपल्ट। युभेन्ट्सले उपाधि जित्ने निश्चित पार्नका लागि आइतबारको खेलमा साम्पडोरियालाई हरायो।

कोरोना भाइरस संक्रमणको महामारीले सबैभन्दा आक्रान्त देशमध्ये एक हो, इटाली।

कुनै समय थियो, पूरा इटालीलाई यो भाइरसको संक्रमणले छोपेको थियो। यस्तोमा फुटबल सबैका लागि खासकै कुनै प्राथमिकता परेको थिएन।

धन्न, स्थिति चाँडै सम्हाल्न सकिने स्थितिमा पुग्यो र फुटबल भनेपछि हुरुक्क हुने देशमा फेरि खेल सुरु भए। यसैक्रममा त हो, युभेन्ट्सले फेरि एकपल्ट लिग उपाधि जित्न सफल रहेको छ। त्यो पनि आरामले भन्दा हुन्छ।

यो सबै परिस्थिति बुझेका क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सले लिग जित्ने निश्चित भएपछि त्यस सफलतालाई आफ्नो समर्थकप्रति समर्पित गरेका छन्, विशेषत: युभेन्ट्सलाई प्रशंसकलाई।

उनले इन्स्ट्राग्राममार्फत लेखेका छन्, ‘लगातार दोस्रोपल्ट युभेन्ट्सका लागि मैले लिग उपाधि जितेको छु र यसका लागि खुसी छु। म यो सबै सफलता युभेन्ट्सका समर्थकलाई समर्पित गर्न चाहन्छु। कोरोना महामारीले ती सबै समर्थकलाई पनि दु:खपीडा भएको छ।’

उनले थपेका छन्, ‘पछिल्ला केही समय कसैका लागि पनि सहज भएन। सबैले यसक्रममा बहादुरी देखाए र विषम परिस्थितिसँग लड्न साहस गरे। यही देखेर मैले पनि अन्त्यसम्म लड्ने प्रेरणा पाएको हु। यो सबै सफलता हाम्रो समर्थककै कारण सम्भव भएको हो। म ती सबै समर्थकलाई अँगालो मार्न चाहन्छु।’

रोनाल्डो विश्व फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला स्टारमध्ये एक हुन् र उनका यी भावनाले देखाएको छ, उनको मन उत्तिकै कोमल पनि छ। 

-अनुवादित सामग्री


Leave a Reply

Your email address will not be published.