विराटनगरमा मास्क नलगाउनेलाई जरिवाना

विराटनगरमा मास्क नलगाउनेलाई जरिवाना

विराटनगरमा मास्क नलगाई हिँड्नेलाई १० रुपैयाँ जरिवाना गर्न थालिएको छ।

समुुदायमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरनगरको निस्कर्षसहित आइतबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले प्रमुख प्रशासकीय अधिकृत  इन्द्रमणि पोखरेलको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, उद्योग वाणिज्य संघ, स्वास्थ्य कार्यालयका प्रतिनिधिलगायतको एक टोलीलाई नियमित अनुुगमन गर्ने र कारबाही गर्ने अख्तियारी दिएको उपप्रमुख इन्दिरा कार्कीले जानकारी दिइन्। 

कार्कीका अनुसार सोमबार पनि कार्यालय समयदेखि विराटगरका विभिन्न चोकमा अनुुगमन गुरु गरिएको छ। बजारमा मास्कबिना देखिएका नागरिकलाई पहिलो चरणमा नियन्त्रणमा लिने र १० रुपैयाँ जरिवाना गर्दै उभ्याएर आइन्दा अनिवार्य मास्क लगाए हिँड्न आग्रह गर्दै एउटा सर्जिकल मास्क दिइने छ। 

त्यस्तै विराटनगरका पसल सञ्चालकलाई अनिवार्य मास्क र सेनिटाइजरको व्यवस्था गर्न सूचना जारी गरिएको छ भने ग्राहकको अनवाश्यक भीड नगराई दूरी कायम गरेर सामान बिक्री गर्न भनिएको छ।

उपमेयर कार्कीको संयोजकत्वमा रहेको अर्को बजार अनुुगमन समितिले समेत नियमित अनुुगमन गर्नेछ। बजारमा स्वास्थ्य सचेतना नअपनाइएको पाइए पहिलो चरणमा चेतावनी दिने र दोस्रो पटक अनुुगमन गर्दा पुनः लापरवाही पाइए पसल बन्दसमेत गर्ने तयारी महानगरपालिकाको छ। 

आइतबार बसेको महानगरपालिकाको विशेष बैठकले कोरोना भाइरस संक्रमणको जोखिम मध्यनगर गर्दै अत्यावश्यकबाहेकका सेवा केही समयका लागि बन्द गर्ने निर्णय गरेको छ। 

आइतबार मात्र प्रदेश १ मा कोरोनाका ३१ नयाँ संक्रमित थपिएका थिए भने तीमध्ये विराटनगर महानगरभित्रकै २२ व्यक्ति रहेका छन्। 

आइतबार बेलुकासम्मको तथ्यांकअनुसार प्रदेश १ मा संक्रमितको संख्या ९ सय २२ पुुगेको छ।

निको भएर घर जानेको संख्या ७ सय ४७ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिएका छन्। 


Leave a Reply

Your email address will not be published.