कोसी अस्पतालका चिकित्सक र नर्समा कोरोना संक्रमण
कोसी अस्पतालमा कार्यरत चिकित्सक र नर्समा कोरोना भाइरसको संक्रमण पोजेटिभ पुष्टि भएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार पोस्टनेटल वार्डमा कार्यरत नर्समा संक्रमण पुष्टि भएको हो। उनी यसअघि संक्रमण देखिएको निजी अस्पताल विराट नर्सिङ होममा पनि काम गर्थिन्।
अहिले उनीसँग सम्पर्कमा रहेका व्यक्तिको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य सुरु गरिएको छ।
उनी आंशिक रूपमा काम गर्ने अस्पतालका सञ्चालकलाई नै कोरोना देखिएपछि विराट नर्सिङ होम सिल गरिएको छ। त्यहाँ कार्यरत अन्य चार स्वास्थ्यकर्मीलाई समेत कोरोना पोजेटिभ पुष्टि भइसकेको छ।
त्यस्तै कोसी अस्पतालका अर्का एक चिकित्सकमा पनि संक्रमण पोजेटिभ भएको दासले जानकारी दिएका छन्। उनी भर्खरै जिल्ला बाहिरबाट कोसी अस्पतालमा आएका हुन्। उनले अस्पतालमा सेवा सुुरु गरेका भने छैनन्।
अस्पतालमा काम गर्न आएका सप्तरी स्थायी घर भएका ती चिकित्सकलाई रुघाखोकी लागेपछि कोसीकै ल्याबमा पिसिआर परीक्षण गरिएको थियो।
संक्रमित दुवैलाई कोसी कोभिड अस्पतालमा उपचार थालिएको छ।