२ अर्ब १७ करोड घाटामा रहेको श्रीराम सुगर मिल्स बन्द
रौतहटमा रहेको श्रीराम सुगर मिल्स लिमिटेड सधैंका लागि बन्द भएको छ।
पछिल्लो समय वर्षेनि घाटामा रहेको यो मिल्स आइतबारदेखि लागि बन्द भएको मिल्सले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) लाई पत्र बुझाएर जानकारी दिएको हो।
नेप्सेलाई साउन ९ गते बुझाएको पत्रमा भनिएको छ, ‘उद्योगलाई टिकाइराख्न कम्पनीका सञ्चालकहरूले करौडौं रुपैयाँ लगानी गरेपनि कम्पनीको वार्षिक घाटा झनझन बढ्दै गयो। जसकारण उद्योग व्यवस्थापन पक्षले उखु कृषकको रकम समेत समयमा भुक्तानी गर्न सकेको छैन।’
पत्रमा उल्लेख भए अनुसार आर्थिक वर्ष ०७५/०७६ मा मात्र कम्पनीको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ९८ हजार पुगेको छ।
कम्पनी घाटामा जाँदा उद्योगमा कार्यरत श्रमिकले चार महिनादेखि सञ्चायकोषबापतको रकम र पारिश्रमिक समेत पाएका छैनन्। यो उद्योग चालु आवमा १४ दिन मात्र क्रसिङका लागि खुलेको थियो।
अब उद्योगमा कार्यरत श्रमिक कर्मचारीको तलबभत्ता र सुविधा कम्पनीको नाममा रहेको चल-अचल सम्पत्ति बिक्री गरेर भुक्तानी हुने पत्रमा उल्लेख छ।
नेप्सेमा श्रीराम सुगर मिल्सको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर सूचीकृत छ। कम्पनीको चुक्ता पूजी ३० करोड ४५ लाख ९९ हजार रहेको छ।