तेक्वान्दाे संघबाट दीपक र संगीनासहित दर्जन बाहिरिए
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ मा व्यवस्था भएबमोजिम राष्ट्रिय खेलकुद परिषदका कर्मचारी खेल संघको कुनै पनि पदमा बस्न नपाइने व्यवस्थाअन्तर्गत नेपाल तेक्वान्दो संघका दर्जन पदाधिकारीले जागिर रोजेका छन् ।
केन्द्रीय कार्यसमितिमा रहेका दर्जन पदाधिकारीले दिएको राजीनामा स्वीकृति गर्दै तेक्वान्दो संघले सोमबार उनीहरूलाई बिदाइ गरेको छ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव दीपराज गुरुङले तेक्वान्दो खेलका विकास र संस्थागत हितका सबै पदाधिकारीले पुर्याएको भुमिका र योगदानबारे प्रशंसा गरेका थिए।
संघबाट बिदाइ हुनेमा तेक्वान्दो मुख्य प्रशिक्षक तथा सचिव नवीनकुमार श्रेष्ठ, सचिव तथा प्रवक्ता ओलम्पियन दीपक विष्ट, सहकोषाध्यक्ष सुमनकुमार घलेसहित अन्य सदस्य रहेका छन् ।
सदस्यहरूमा टीकाप्रसाद लिम्बु, ओलम्पियन संगीना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापा मगर, पूर्ण योञ्जन, कविराज खड्गी, हीराबहादुर थापा र मीन न्यौपाने रहेका छन् । सबै राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक रहेका छन् ।
अन्य संघबाट पनि राखेपका कर्मचारी रहेकाहरूले राजीनामा दिने क्रम बढ्दो छ ।