प्रेस सल्लाहकार कि विरोधी खेद्‌ने ‘हतियार’?

प्रेस सल्लाहकार कि विरोधी खेद्‌ने ‘हतियार’?

सत्तारुढ दल नेकपा एकताको कुरा सुरु भएसँगै तत्कालीन एमाले र माओवादी केन्द्रभित्र केही असन्तुष्टि देखापरेकै हुन्। तर, एकता घोषणापछि पनि एक-अर्काबीच हिलो छ्याप्ने क्रम रोकिएको छैन। 

मौका पायो कि अहिले पनि नेकपाका नेताहरू एक-अर्कालाई सार्वजनिक मञ्चबाटै नङ्ग्याउन पछि पर्दैनन्। वैचारिक एकता भए पनि भावनात्मक मिलन नहुँदा सरकार वा पार्टीले गर्ने निर्णयविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म असन्तुष्टि पोखिने गरेको छ। 

दुई दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटाउन प्रधानमन्त्री केपी ओली आफैं संलग्न भएको आरोपमात्र लगाएनन्, उनले लिम्पियाधुरा र कालापानीसहितको नक्सा प्रकाशनमा पनि सबैको साझा प्रयासबाट भएको भन्दै कुनै एक व्यक्तिलाई देवत्वकरण नगर्न सुझाव दिए। 

लामो समयदेखि कोरोना महामारीको ‘लकडाउन’ का कारण नेताहरूले सार्वजनिक मञ्च पाएका थिएनन्। यस्तै, पार्टीभित्रको आन्तरिक विवाद सतहमा आउन थालेपछि स्थायी समिति बैठक पनि स्थगित नै छ। 

लकडाउन खुल्नेबित्तिकै सार्वजनिक मञ्चमा उभिएका पार्टीका शीर्ष नेताहरूले एकैपटक आन्तरिक विवाद र असन्तुष्टि पोख्न थालेका हुन्। प्रचण्डको अभिव्यक्तिपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार सामाजिक सञ्जालमार्फत ‘काउन्टर’ दिए। 

उनले प्रचण्डलाई ‘मपाइँत्व’ गर्ने भन्दै सामाजिक सञ्जालमार्फत प्रश्नैप्रश्न सोधे। पार्टीको आन्तरिक विवादमा सामाजिक सञ्जालमै कुर्लिएर जवाफ दिने सूर्य थापाको यो पहिलो प्रयास भने होइन। उनी स-साना कुरामा पनि प्रधानमन्त्रीइतरका नेतालाई भन्न केही बाँकी राख्दैनन्। 

थापाको अभिव्यक्ति र अरूप्रति गरिने प्रहार हेर्दा उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकार नभई असुन्तष्टिप्रति प्रहार गर्ने ‘हतियार’ का रूपमा प्रस्तुत हुने गरेका छन्। उनले यस्ता स्टाटस र अभिव्यक्ति यसपटक मात्र होइन, यसअघि पनि स-साना मुद्दामा पनि उनले तल्लोस्तरमै पुगेर टिप्पणी गर्ने गरेका छन्। 

जनताको करबाट तलब खाने भूमिका रहेको व्यक्तिले यसरी पार्टीगत कुरालाई प्रश्रय दिन नसुहाउने पत्रकारिताका प्राध्यापक पी खरेल बताउँछन्। 

'सहायकमन्त्रीस्तरको तलब खाएर बहाली हुने सल्लाहकार उहाँ नै हो। अहिले उहाँले यसरी पार्टीमा कुनै गुटमा पक्षधर भएर समाजिक सञ्जालमा उत्रिन मिल्दैन। पछि पद छाडेर गएपछि पार्टीभित्र मात्रै हुँदा जे बोले नि उहाँको कुरा हो।’

‘पार्टीको प्रवक्ता भए पनि खासै वास्ता हुन्थेन। उहाँ पार्टीको प्रवक्ता पनि होइन, फेरि अहिले उहाँ जनताको करबाट तलब खाएर सरकारका प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रूपमा हुनुहुन्छ,’ खरेलले आयोमेलसँग भने, ‘सहायकमन्त्रीस्तरको तलब खाएर बहाली हुने सल्लाहकार उहाँ नै हो। अहिले उहाँले यसरी पार्टीमा कुनै गुटमा पक्षधर भएर समाजिक सञ्जालमा उत्रिन मिल्दैन। पछि पद छाडेर गएपछि पार्टीभित्र मात्रै हुँदा जे बोले नि उहाँको कुरा हो।’

यता, नेकपाका नेताहरू पनि थापाका अभिव्यक्तिप्रति सन्तुष्ट छैनन्। पार्टीको आन्तरिक विषयमा अतिरञ्जित र अमर्यादित तरिकाले सडकसम्म ल्याउने काम थापाले गर्दै आएको नेकपा नेताहरूको आरोप छ। पटक-पटक नेताहरूले प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएर पार्टीको प्रवक्ताजस्तो बनेको भन्दै अनुशासनमा बस्न अनुरोध पनि गरेका छन्। 

पार्टीका आन्तरिक विवाद पार्टीभित्रै बहस गरेर सल्टाउनुपर्नेमा सडकसम्म पोख्ने काम थापाले गरेको नेकपाका नेता खगराज भट्ट बताउँछन्। 

‘हरेक कुरालाई सामाजिक सञ्जालमार्फत अमर्यादित तरिकाले विवादमा ल्याउने काम गर्नुभएको छ। आफ्नो मर्यादा, सीमा के हो भन्ने उहाँले भुल्नु हुँदैन,’ भट्टले आयोमेलसँग भने, ‘यस्ता विषयमा पार्टीभित्र समीक्षा गरी अनुशासनको दायराभित्र राख्नु आवश्यक देखिन्छ।’

थापाले विभिन्न समयमा सामाजिक सञ्जालमा व्यक्त गर्ने अभिव्यक्तिप्रति नेकपा अनुशासन आयोगमा नै चर्को बहस हुने गरेको छ। अनुशासन आयोगभित्र पनि थापाले अभिव्यक्ति पार्टीको अनुशासनविपरीत र मर्यादाविपरीत भएको आवाज उठ्दै आएको छ। 

‘हामीले पटक-पटक उहाँका यस्ता अभिव्यक्तिका विषयमा आयोगभित्र छलफल गरेका छौं। अहिले लकडाउनका कारण हाम्रो बैठक बस्न नसकेर निर्णय लिन सकिएको छैन,’ नेकपा अनुशासन आयोगका सचिव अशोक रोकायाले भने, ‘पार्टीका आन्तरिक कुरालाई पनि सामाजिक सञ्जालमा प्रस्तुत गर्ने र टिप्पणी गर्ने उहाँको शैली अराजक नै हो। यसमा गम्भीर छलफल गरेर के कस्तो कारबाही गर्ने हामी छिट्टै टुंग्याउँछौं।’

अनुशासन आयोगका अध्यक्षसँग यस विषयमा कुराकानी भइरहेकाले कोरोना सामान्य हुनेबित्तिकै आयोगको बैठक बसालेर कारबाही र चेतावनी के हुन्छ प्रक्रिया अगाडि बढाइने रोकायाले आयोमेललाई जानकारी दिए।   

तपाईंले सामाजिक सञ्जालमा गर्ने टिप्पणीप्रति आफ्नो पदीय भूमिकाको मर्यादाभन्दा बाहिर गएको भन्ने नेकपा नेतृत्वको आरोप छ नि? भन्ने आयोमेलको प्रश्नमा प्रधानमन्त्री आ‌ेलीका प्रेस सल्लाहकार सूर्य थापाको जवाफ यस्तो छ, ‘ए मेरो विषयमा अराजक भयो भनेर तपाईंलाई कसले सोध्न लगायो?' 

उनले आफूलाई यस विषयमा कुरा नै गर्नु छैन भन्दै थपे, ‘यस्ता कुरामा मलाई भन्नु केही छैन। मैले दिने अभिव्यक्तिको आलोचना गर्ने को हुन् उनैलाई सोध्न‌ुहोस्?’  

सरकार वा ओलीप्रति नेकपाभित्रका कुनै नेताले असन्तुष्टि राख्नेबित्तिकै थापा सामाजिक सञ्जालमार्फत खोइरो खन्न उत्रिहाल्छन्। उनका पछिल्ला अभिव्यक्ति र सामाजिक सञ्जालमा पोस्टिने विचार हेर्दा उनी प्रधानमन्त्रीका प्रेस सल्लाहकारको भूमिकाभन्दा पनि सरकार र प्रधानमन्त्रीमाथि प्रस्तुत हुने असन्तुष्टिप्रति प्रहार गर्ने हतियारका रूपमा स्थापित भएको भान हुन्छ। पटक-पटक पार्टीका आन्तरिक विवाद र ठूलो नेतृत्वबाट हुने असन्तुष्टिमाथि टिप्पणी गरेर विवादमा आउने थापा नै हुन्। 

पछिल्लो एक वर्षमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जालमा आफूइतरका नेतृत्वलाई गरेका टिप्पणी यस्ता छन् :  

गत वर्ष साउनमा नेकपा अध्यक्ष प्रचण्डले आफूले आजसम्म कसैलाई एक झापड नहानेको र कसैको एक झापड पनि नखाएको भन्ने अभिव्यक्ति त्यतिबेला मिडियादेखि सामाजिक सञ्जालमा निकै चर्चित बन्यो। यही विषयमा साउन अन्तिम साता नेकपाका दुई नेताबीचमा ठूलै वाकयुद्ध चल्यो। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहेका सूर्य थापा र तत्कालीन माओवादी पृष्ठभूमिका रामप्रसाद सापकोटा (दीपशिखा) सार्वजनिक रूपमा आरोप-प्रत्यारोपमा उत्रिए। थापा नेकपाका केन्द्रीय सदस्य पनि हुन्। दीपशिखा प्रचण्ड पक्षधर हुन् भने थापा प्रधानमन्त्री ओली पक्षधर। 

थापाले आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि कटाक्ष गर्दै फेसबुकमा स्टाटस लेखेका थिए। प्रचण्डसँग व्यक्तिगत निकटता राख्ने दीपशिखालाई त्यो स्टाटस चित्त बुझेन। उनले थापामाथि ‘फायर’ खोल्दै उनलाई पार्टीबाट पद त्याग गर्न सुझाव दिए।

दीपशिखाले आफ्नो व्यक्तिगत विचार भन्दै लेखेका थिए- ‘पार्टी केन्द्रीय सदस्यजस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन। पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ। यस्ता गाली आजकाल फस्टाउँछ भन्ने लागेको भए यसैलाई पेसा बनाए हुन्छ।’

नेकपामा पूर्वएमाले कसैको जिम्मेवारी खुमलटारको दया, कृपा र सहमतिमा तोकिने होइन। त्यहाँको दुःख सीमा थाहा नपाउने सायदै कोही होला।’

यो स्टाटसमा उनले थापाको अर्को पुरानो स्टाटसको स्क्रिनसट पनि हालेका थिए। उक्त स्टाटसमा थापाले लेखेका थिए- ‘नेकपामा पूर्वएमाले कसैको जिम्मेवारी खुमलटारको दया, कृपा र सहमतिमा तोकिने होइन। त्यहाँको दुःख सीमा थाहा नपाउने सायदै कोही होला।’

दीपशिखाको स्टाटसपछि थापाको जवाफ पनि आएको थियो। उनले लेखेका थिए- ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने? कति हाँस्नु? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको? विचरा।’

यस्तै, दोस्रो घटना हो नेकपा नेता भीम रावलबारे गत वर्ष पुस ६ गते मध्यरात थापाले लेखेको स्टाटस। स्थायी कमिटी बैठकले गरेका निर्णयबारे सञ्चारमाध्यमलाई जानकारी दिएर नेता रावलले प्रवक्तालाई ‘बाइपास’ गरेको अभियोग लगाउँदै सामाजिक सञ्जालमा गरेको पोस्ट थापाले सीमित गरेका थिए। पहिले सबैले देख्न मिल्ने गरी पोस्ट गरेको स्टाटस उनले पछि फेसबुकमा आफूसँग साथी रहेकाले मात्रै देख्न मिल्ने गरी सीमित गरेका थिए।

स्थायी कमिटी सदस्य रावलले हप्ता दिन चलेको कमिटी बैठकका निर्णय पत्रकारलाई जानकारी गराएको विषयमा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएका थिए। बैठकले गरेका निर्णय आफैं सञ्चारमाध्यमलाई जानकारी गराएर नेता रावलले पार्टी जिम्मेवारीको मजाक बनाएको नेकपा केन्द्रीय सदस्यसमेत रहेका थापाले आरोप लगाएका थिए।

बैठकका निर्णय पार्टी प्रवक्ताले सार्वजनिक गर्नुपर्ने जिम्मेवारी भए पनि नेता रावलले कार्यक्षेत्र मिचेर ‘टेलिभिजनमा देखिने लोभमा आफैं प्रवक्ताजस्तो गरी प्रस्तुत भएको थापाले आरोप लगाएका थिए। नेताहरू वैधानिक र व्यावहारिक जिम्मेवारी मिचेर यसरी प्रस्तुत भएको देख्दा ताजुब लागेको पनि उनले उल्लेख गरेका थिए। नेकपाका प्रवक्ता भने नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ हुन्।

श्रेष्ठ प्रमुख रहेको नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा थापा उपप्रमुख छन्। भीम रावलसहितका नेताको आफैं प्रवक्ताजस्तो व्यवहारले कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकी जस्तो मात्रै हुने खतरा बढेको थापाले उल्लेख गरेका थिए।

यस्तै, नेता रावलले पुस दोस्रो सातातिर स्थायी समितिमा बाचन गरेको कविता र २०५६ साल साउन ३ गते बुधबार साप्ताहिकमा प्रकाशित कविता सेयर गर्दै थापा रावलविरुद्ध उत्रिएका थिए। 

त्यसबेला थापाले राष्ट्रवादको बहसमा बुझेर नै उत्रिएको कि नबुझी भनेर प्रश्नसमेत गरेका थिए। उनले सामाजिक सञ्जालमै रावललाई एक्लो ‘वृहस्पति’ नबन्न सुझावसमेत दिए। यसको जवाफमा रावलले भने पञ्चायतविरुद्धको विद्रोहपछि आफू जेलमा हुँदा थापा १० महिनाको शिशु भएकाले आफ्नो योगदानबारे उनलाई थाहा नभएको कटाक्षसमेत गरे। 

त्यसबेला तत्कालीन सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पनि सूर्य थापाको समर्थन गर्दै नेता रावललाई ‘छाउपडी हटाउन नसक्ने, ठूलो कुरा गर्ने?’ भन्दै कटाक्ष गरे। 

सँगै रावलले सरकारका खराब कामको सूची प्रस्तुत गर्दै आफूले भनेको कुरा तथ्यसँग मेल नखाने भए प्रमाणित गर्न चुनौती दिए। 

‘होली वाइन, आइफा अवार्ड, तरकारीमा विषादी परीक्षणदेखि राजपासँगको सम्झौतासम्म मैले भनेको कुरा तथ्यसँग मेल खाँदैन भने प्रमाणित गर्न चुनौती दिन्छु,’ रावलले भनेका थिए, ‘सल्लाहकारको सल्लाह भए २०३२ सालमा झ्यालखानादेखि तत्कालीन नेकपा (एमाले) मा देखेभोगेका कुरा र गुटबन्दीका पत्रपत्रलगायत तथ्यमा बहस गरौंला। यद्यपि, सरकार चलाउनुपर्नेले गुट चलाउन थालेमा, सल्लाहकारबाट धेरै अपेक्षा गर्नु सायद उचित हुँदैन होला।’  

गत माघमा पनि थापाले पार्टी अध्यक्ष प्रचण्डलाई गुटबन्दी चलाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा असन्तुष्टि पोखे। सत्तारुढ नेकपामा भैंसेपाटी र खुमलटारमा भएको भेलालाई थापाले गुटबन्दीको संज्ञा दिए।


Leave a Reply

Your email address will not be published.