साथीकाे हत्या अभियोगमा चारजना पक्राउ

साथीकाे हत्या अभियोगमा चारजना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले कर्तव्य ज्यान मुद्दाका अभियुक्तहरूलाई पक्राउ गरेको छ। असार २३ गते मैयादेवी कन्या कलेजअगाडि  झाडीमा मृत अवस्थामा फेला परेका भरतपुर महानगरपालिका १४ शिवनगरका राजकुमार गुरुङको हत्याको अभियोगमा चारजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा भानु नगरपालिका ४ तनहुँका ३४ वर्षे कमल गन्धर्व, गजुरा नगरपालिका १ रौतहतका ३० वर्षे अम्मरबहादुर थिङ, घोराही उपमहानगरपालिका ११ का २४ वर्षे सागर र भरतपुर महानगरपालिका ८ चितवनका ३१ वर्षे प्रकाश बिक छन्। बिकबाहेक उनीहरू हाल भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको कभर्डहलमा बस्दै आएका थिए।

यस्तै हत्या आभियोग लागेको दुईजना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। फरार हुनेमा भानु नगरपालिका ४ का २८ वर्षे लक्ष्मी मगर र ४५ वर्षे सीता गन्धर्व छन्।

ठेला रिक्साका विषयमा झगडा हुँदा मृतक गुरुङलाई अभियुक्तहरूले कुटेका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ।

असार १९ गते ठेला रिक्सा गुरुङको साथमा नभएको भन्दै गेष्टहाउस चौरको अस्थायी बासेबास गर्ने स्थानमा लगेर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

अभियुक्त कमल गन्धर्वले व्यवसाय प्रयोजनका लागि प्रतिदिन १ सय ५० रुपैयाँ भाडामा लगेको ठेला रिक्सा मृतक राजकुमार गुरुङले बेचेको आरोपमा उनीहरूलाई कुटपिट गरेको प्रहरीले बताएको छ।

अभियुक्तले कालिका नगरपालिकास्थित पदमपुरमा लगेर बेचेको बयानमा अरोप लगाएका छन्।

कुटपिटबाट मृत्यु भएपछि बोरोमा पोको पारेर भित्री बाटो प्रयोग गरि मैयादेवी कलेजअगाडि झाडीमा फालेको प्रहरीको दाबी छ।

मृतक गुरुङको शव बोराभित्र सडेको अवस्थामा असार २३ गते फेला परेको थियो। 


Leave a Reply

Your email address will not be published.