दैलेखको कृषि कार्यालयका सात कर्मचारीमा संक्रमण पुष्टि, कार्यालय सिल

दैलेखको कृषि कार्यालयका सात कर्मचारीमा संक्रमण पुष्टि, कार्यालय सिल

दैलेखको कृषि विकास कार्यालयका कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। कार्यालयका सातजना कर्मचारीमा आइतबार संक्रमण पुष्टि भएको हो भने यसअघि कार्यालयका एकजना कर्मचारीमा संक्रमण पुष्टि भइसकेको थियो।

कर्मचारीमा कोरोना संक्रमण भेटिएदेखि आइतबारदेखि अनिश्चित समयसम्म कृषि कार्यालय सिल गरिएको छ। यसका साथै दैलेखमा रहेका अन्य सरकारी कार्यालयमा अत्यावश्यकबाहेक अन्य सेवा रोकिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

उनले भने, ‘कृषि विकास कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरेका छौं। अन्य सरकारी कार्यालयमा समेत अत्यावश्यकबाहेक सबै सेवाहरू बन्द भएका छन्।’

केही समय पहिले कार्यालयको एक कर्मचारीका कोरोना संक्रमण पुष्टि भएपछि कृषि कार्यालयका कर्मचारीमा परिक्षण गर्दा आइतबार थप सातजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि कर्मचारीको स्वास्थ्य उपचारका लागि आइसोलेसनमा राखिएको उनले बताए।

यसअघि दैलेखमा ४६ जना सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो। हाल उनीहरू संक्रमणबाट निको भइसकेका छन्।

सोमबारसम्म कर्णालीमा १ हजार ९ सय १० जनामा कोरोना संक्रमण भइसकेको छ। कर्णालीका अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी संख्यामा दैलेखमा मात्र ९ सय २६ जनामा संक्रमण पुष्टि भइसकेको हो। 


Leave a Reply

Your email address will not be published.