प्रहरी हिरासतमा रहेका व्यक्तिमा कोरोना पुष्टि
आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिमा कोरोना संक्रमण देखिएको भएको छ। बैतडीको पूर्चौडी नगरपालिका–१० का ३१ वर्षीय पुरुष असार ३१ गते आमालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए।
उनी इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका थिए। उनको स्वास्थ्यमा समस्या भएपछि साउन ५ गते कोरोना परीक्षणका लागि डडेलधुरामा स्वाब पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए।
‘कोरोनाको आशंका लागेपछि ती व्यक्तिको साउन ५ गते स्वाब संकलन गरी डडेलधुरा पठाइएको थिया,’ सूचना अधिकारी जोशीले भने, ‘आज परिपोर्ट आएको मा कोरोना पोजेटिभ देखिएको छ।’
हिरासतमा रहेका व्यक्तिमा कारोना संक्रमण पुष्टि भएपछि उनीसँगै हिरासतमा रहेका दुई जनाको पनि स्वाब संकलन गरी कोरोना परीक्षणका लागि डडेलधुरा पठाइएको सूचना अधिकारी जोशीले बताए।
कोरोना संक्रमण पुष्टि भएपछि बलात्कारको आरोपमा हिरासतमा रहेका व्यक्तिलाई भने जिल्ला अस्पताल गोठालापानीमा लगेर उपचार गर्ने तयारी भइरहेको छ।
यसअघि पनि बैतडीमा प्रहरी हिरासतमै रहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। हत्या आरोपमा पक्राउ परेका जिल्लाको सर्नयाँ गाउँपालिका–५ का २२ वर्षीय वुयकमा संक्रमण पुष्टि भएको थियो।