झापाको राजगढ क्षेत्र सिल

झापाको राजगढ क्षेत्र सिल

झापाको राजगढ क्षेत्र अनिश्चित समयका लागि सिल गरिएको छ। समुदाय स्तरमा कोरोना देखिएको आशंकासँगै साविक राजगढ गाविस सिल गरिएको बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशीले बताइन्। 

बाह्रदशी २  राजगढ बजारमा रहेको राजगढ पोलिक्लिनिकका सञ्चालक र ३ का एक जना राजनीतिक कार्यकर्तामा कोरोना  संक्रमण पुष्टि भएसँगै राजगढ सिल गरिएको हो। 

हालको बाह्रदशी गाउँपालिकाका १, २ र ३ नम्बर वडा सिल गर्ने निर्णय भएको उपाध्यक्ष राजवंशीले बताइन्। आज उनीहरूमा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँपालिकाको आपतकालीन बैठक बसेको थियो। 

बैठकले मंगलबारदेखि कन्ट्र्याक ट्रेसिङ सुरु गर्ने, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी स्वाब संकलन र पिसीआर परीक्षण गर्ने निर्णय गरेको गाउँपालिकाका अधिकृत तेजप्रसाद रेग्मीले जानकारी दिए। एम्बुलेन्स, दूध र अत्यावश्यक सवारी साधन बाहेक केही पनि नचल्ने जनाइएको छ।

क्वारेन्टाइनमा बसेका ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक कार्यकर्ता गरी २६ जनाको स्वाब संकलन गरी चारदिन अघि परीक्षणका लागि  पठाइएको थियो। त्यसमध्ये समुदायका दुईजनामा संक्रमण पुष्टि भएको हो। संक्रमितहरुलाई मोरङको कोभिड अस्पताल  गोठगाउँ पठाइएको छ।

ति दुबैजना संक्रमितको सम्पर्कमा नरहेका व्यक्ति भएको जनाइएको छ। राजगढ बजारमा समुदायमा संक्रमण फैलिएको भन्दै स्थानीय त्रसित बनेको राजगढ माविका शिक्षक गुणानिधी लुइँटेलले बताए।

योसँगै बाह्रदशीमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ। वैशाख १४ गते बाह्रदशी ४ का मुजाहिर आलमलाई कोरोना संक्रमण पुष्टि भएसँगै बाह्रदशीको चकचकी क्षेत्र सिल गरिएको थियो। मुजाहिर झापामा कोरोना संक्रमित हुने दोस्रो व्यक्ति हुन्। उनी अहिले पूर्ण स्वस्थ छन्।

झापामा पहिलो पटक वैशाख ११ गते दमक ३ का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उनी पनि हाल पूर्ण स्वस्थ्य छन्।


Leave a Reply

Your email address will not be published.