देउखुरीमा सालको काठसहित ११ जना पक्राउ

देउखुरीमा सालको काठसहित ११ जना पक्राउ

अवैध काठ चोरी तस्करी रोक्ने क्रममा देउखुरीमा प्रहरी र काठ तस्करबीच झडप भएको छ। झडपका क्रममा दुईजना प्रहरी जवानलाई चोटपटक लागेको छ।

राप्ती गाउँपालिका–४ को राष्ट्रिय वनबाट काठ तस्करी भइरहेको छ भन्ने सूचनाका आधार पुगेको प्रहरी र वन रक्षकहरूको टोली र काठ तस्करको समूहबीच झडप हुँदा दुई प्रहरीलाई सामन्य चोट लागेको डिभिजन वन कार्यालय लमहीका प्रमुख प्रविन बिँडारीले बताए।

झडपका क्रममा इलाका प्रहरी कार्यालय भालुवाङमा कार्यरत प्रहरी हबल्दार मानबहादुर सुनार र प्रहरी जवान तिलक केसी घाइते भएका छन्। ‘काठचोरी भइरहेको सूचना प्राप्त भएपछि आइतबार राति पौने १ बजे सुरक्षाकर्मी र वनकर्मीको टोली त्यहाँ पुगेको थियो,’ प्रमुख बिँडारीले भने, ‘त्यही क्रममा तस्करले आक्रमण गर्दा दुईजना सुरक्षाकर्मीलाई चोटपटक लागेको हो।’

तस्करहरूले छड तथा लाठीले आक्रमण गरेका थिए। ‘उनीहरू तस्कर हुन् वा भरियाका रूपमा प्रयोग भएका हुन् त्यसबारेमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’ 

त्यसक्रममा १५ थान सालको काठसहित ११ जना पक्राउ परेका छन् भने १० जना फरार रहेको उनले बताए।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–४ सिमलखुरी निवासी २५ वर्षीय वीरबहादुर वली, सोही ठाउँ निवासी १८ वर्षीय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षीय शेखर थापा, ३६ वर्षीय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षीय विष्णु गिरी, नयाँ गाउँ निवासी १८ वर्षीय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षीय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्बासी गाउँ निवासी २४ वर्षीय दुर्गे थापा, कहलुवा निवासी १९ वर्षीय हेम थापा, २५ वर्षीय प्रकाश कुमाल र २० वर्षीय सन्जिव बिक रहेको प्रमुख बिँडारीले वताए।

वनपैदावार (साल चिरान काठ) ओसार–पोसार सम्बन्धी कसुर अपराधमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रमुख बिँडारीले जानकारी दिए। फरार अन्य दशजनाको खोजी कार्य भइरहेको कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.