१५ किलो चरेशसहित ६ जना पक्राउ
दाङको घोराहीबाट प्रहरीले १५ किलो लागुऔषध चरेशसहित ६ जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा प्रहरीले घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटेलको ६ नम्बर कोठाबाट १५ किलो चरेशसहित सोमबार दिउँसो ६ जनालाई पक्राउ परेको हो।
५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी निरिक्षक प्रमोदकुमार क्षेत्रीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका–२५ बस्ने ४० बर्षीय सन्तोष गुरुङ, रोल्पा जिल्ला रोल्पा नगरपालिका–१० निवासी २२ बर्षीय आकाश विक, सोही ठाउँ बस्ने २२ बर्षीय जितकुमार विक, रोल्पा थवाङ गाउँपालिका–५ निवासी ४० कमला घर्तिमगर, रोल्पा परितर्वन गाउँपालिका–४ निवासी ४५ मनोज बढा र सल्यान जिल्ला बनगाड नगरपालिका–१२ निवासी २८ बर्षीय डिलबहादुर विक रहेको ५ नम्बर प्रदेश कार्यालय तुलसीपुरले जनाएको छ।
पक्राउ परेका उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय घोराहीबाट थप अनुसन्धान भैरहेको जनाएको छ। लागुऔषध दुव्यर्सनलाई रोक्न प्रहरीले दाङमा निगरानी बढाएको छ।