प्राधिकरण पुनरावेदन समितिले थाल्यो अनलाइन सुनुवाइ

प्राधिकरण पुनरावेदन समितिले थाल्यो अनलाइन सुनुवाइ

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पुनरावेदन समितिले पुनरावलोनका लागि भूकम्प पीडितहरूबाट परेका उजुरीको अनलाइन सुनुवाइ थालेको छ। लामो दूरीका यातायातका साधन नचलेको अवस्थामा उजुरीकर्ताहरूलाई सहज होस् भनेर समितिले सोमबारबाट अनलाइन सुनवाई थालेका हो।

सोमबार समितिको तीन सदस्यीय पूर्ण इजलासले नुवाकोटका ५० जना उजुरीकर्तासँग प्रत्यक्ष कुराकानी गरी सुनुवाइ गर्यो। जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) नुवाकोटको संयोजनमा ती उजुरीकर्ताले समितिसमक्ष आफ्नो उजुरीको बचाउ गरेका थिए।

‘सुनुवाइका लागि जिल्ला जिल्लाबाट उजुरी दिएका पक्षहरू सिंहदरबार आउन नपरोस् र सुनुवाई पनि सहज होस् भनेर हामीले प्रविधिको प्रयोग गरी अनलाइनबाट सुनुवाइ थालेका हौं', समिति सदस्य भीष्मराज कडरियाले भने।

समिति सदस्य कडरियाले आगामी दिनमा उजुरीकर्तालाई काठमाडौंसम्म आउने झन्झट र आर्थिक भार नपरोस् भनेर अनलाइन सुनुवाइ निरन्तर गर्ने योजना रहेको जानकारी दिए। समितिको कार्यालय सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय कार्यालयपरिसरमा रहेको छ।

समितिले यसअघि उजुरीको दर्ता क्रमअनुसार पेसी तोकी सुनुवाइ गर्ने गरेको भए पनि अबदेखि प्राविधिक र व्यवस्थापनलाई ध्यान दिएर एक दिनमा एउटा जिल्लाका उजुरीको सुनवाई गर्नेछ। 

प्राधिकारणका अनुसार २०७७ साल असार मसान्तसम्म समितिमा कूल ७ हजार ३६ उजुरी परेका थिए। जसमध्ये ६ हजार ७ पुनरावेदनमा छानबिन र सुनुवाइको प्रकृया पुरा भई आदेश वा निर्णय भइसकेको छ। तीमध्ये २ हजार ८६ वटा उजुरीको फैसला भइसकेको छ।

फैसला भएका उजुरीमध्ये १ हजार ३ सय ६७ को सुरु सदर भएको छ भने १ सय ६१ उजुरीमा उल्टी फैसला भएको छ। जसमा १२२ वटा पुनर्निर्माण छन् भने ३९ वटा प्रवलीकरण छन्। उजुरीमध्ये ६१ तामेलीमा गएका छन् भने ४ सय ९७ को खारेजी फैसला भएको प्राधिकरणले जनाएको छ।


Leave a Reply

Your email address will not be published.