प्रधानमन्त्रीको राजीनामा बाहिरबाट आएको एजेन्डा– प्रदीप ज्ञवाली

प्रधानमन्त्रीको राजीनामा बाहिरबाट आएको एजेन्डा– प्रदीप ज्ञवाली

पटक–पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को स्थायी समिति बैठक मंगलबार फेरि बस्दैछ। 

साउन ६ गते बस्दै बस्न नसकेर सारिएको बैठक एकसातापछि बस्न लागेको हो। 

‘बाढी पहिरोको उद्धार तथा राहतमा जुट्नका लागि दुई अध्यक्षबीच सहमतिअनुसार बैठक स्थगित गरिएको’ भनिएपनि यो एकसाता भने नेताहरुले आआफ्नो गुटमै व्यस्त भए। 

यहीबीचमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘प्रधानमन्त्री केपी शर्मा ओलीकै डिजाइनमा एमाले ब्यूँताउन लागिएको’ भन्ने अभिव्यक्ति दिएपछि पार्टीभित्र थप ध्रुविकरण देखियो। 

योबीचमा दोस्रो पुस्ताका नेताहरु पनि सक्रिय नै रहे। 

स्थायी समितिको बैठक बस्नुअघि सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरुबीच खुमलटारमा छलफल भएको थियो। 

मंगलबारको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भएको स्रोतले बताएको छ। 

यद्यपि भोलिको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामाकै बारेमा छलफल बढी केन्द्रित हुने देखिएको छ। प्रचण्ड निकट एक नेताका अनुसार ‘प्रधानमन्त्रीको राजीनामा नै अहिल सतहमा एकदमै चलेको विषय हो’ उनले भने ‘यो त मुख्य एजेन्डा हुने नै भयो। अरु पनि छलफल त होला नि।’

केही समयअघि मदन भन्डारी स्मृति दिवसका बेलमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन ‘भारत लागिपरेको’ भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि बसेको स्थायी समितिको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले ‘भारतले होइन, राजीनामा हामीले मागेको हो’ भन्ने प्रतिक्रिया दिएका थिए। 

त्यसपछि प्रधानमन्त्रीको राजीनामाको विषयले हरेक बैठकमा प्राथमिकता पाइरहेको छ। 

त्यसपछिको एउटा बैठकमा प्रधानमन्त्री ओलीले ‘मंसिरमा अधिवेशन गर्ने’ भन्ने प्रस्ताव राखेपछि फेरि त्यसमा नेताहरु विभाजित भए। कसैले यसलाई ‘ओलीको राजनीतिक स्टन्ट’ भने भने कसैले विषयान्तर गर्ने उपायका रुपमा टिप्पणी गरे। 

त्यसपछि साउन ६ गते बिहान ११ बजे बोलाइएको बैठक बस्न सकेन। नेताहरुको आन्तरिक तयारी नपुगेको भन्दै बैठक १ बजेका लागि सारियो। यो समयमा पनि बैठक बस्न सकेन। त्यसपछि फेरि ‘बाढीपहिरोको उद्धार र राहतमा जुट्न’ भन्दै बैठक मंगलबार (१३ गते)सम्मका लागि स्थगित गरिएको थियो। 

भोलिको बैठकमा के होला?

‘पार्टीभित्र छलफल गर्नुपर्ने थुप्रै एजेन्डाहरु छन्। बैठकमा ति नियमित एजेन्डामै छलफल हुन्छ’ नेकपा स्थायी समिति सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन् ‘हामीसँग एससिसी, पार्टीको एकताको समीक्षा, कोरोना नियन्त्रणका प्रयास, सरकारका कामकारबाहीजस्ता विषयहरु छन्। यस्तै नियमित एजेन्डामै छलफल हुने हो।’

आयोमेलसँगको संक्षिप्त कुराकानीमा ज्ञवालीले प्रधानमन्त्रीको राजीनामा भने ‘बाहिरबाट आएको कुरा’ भने। 

‘छलफल गर्नुपर्ने धेरै विषय छन्। राजीनामाको कुरा पनि नउठेको होइन, यसको बारेमा पनि छलफल हुनसक्छ तर, यो बाहिरबाट आएको एजेन्डा हो’ ज्ञवालीलले भने ‘कसैले बैठकमा कुरा उठाइहाल्यो भने त्यसको सम्बोधन नहुने भन्ने कुरा हुँदैन।’ 


Leave a Reply

Your email address will not be published.