भारतीय मजदूर आउन थाले, वीरगन्जका उद्योगहरूमा संक्रमित बढ्दै

भारतीय मजदूर आउन थाले, वीरगन्जका उद्योगहरूमा संक्रमित बढ्दै

पर्साको वीरगन्जमा अब औद्योगिक क्षेत्रहरु कोरोनाको हटस्पट बन्न थालेका छन्। 

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर अन्तर्गतको मारुती फर्मास्यूटिकल्स प्रालिमा कोरोना संक्रमण देखापरेपछि वीरगञ्जभर त्यसको प्रभाव छ। 

बारा, परवानीपुर वडा नं ५ गण्डक बहुअरीस्थित मारुती उद्योग सिल गरिएको छ। 

गत मङ्गलवारदेखि नै मजदूरहरूमा लगातार कोरोना संक्रमण पुष्टि हुन थालेपछि उद्योगहरुमा प्रशासनले निगरानीे बढाएकोे छ। 

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका विभिन्न उद्योगको अनुगमन गरेको छ। लकडाउन खुकुलो गरेसँगै खुलेका उद्योग कलकारखानामा भारतीय कामदार आएको गुनासो पछि आइतबारदेखि अनुमगमन गर्न सुरु गरेको छ। 

मुख्य नाकाबाट आउँदा क्वारेन्टाइनमा बस्नुपर्ने हुँदा पर्सा जिल्लाको खुला सीमाबाट मानिसहरूको आवतजावत बढेको छ। 

भारतको रक्सौलमा पछिल्लो चरणको लकडाउन हुनुअघिसम्म भारतबाट नेपाल आउनेहरूको सख्या खुला नाकाबाट बढेको थियो। 

विभिन्न कारणले भारत जाने आउनेहरूले सीमानाकामा रहेका सुरक्षाकर्मीहरूलाई प्रभावित गरेर लुकीछिपी भारत जाने गरेका थिए। 

यसैगरी, भारतका विभिन्न स्थानमा बसेका नेपालीहरू नेपाल आउने क्रममा पनि सीमा सुरक्षामा खटेकाहरूलाई प्रभावित गरेर लुकीछिपी आउने क्रम अहिले पनि जारी छ। जेठअघिसम्म लुकीछिपी आउनेहरूको बारेमा स्थानीय प्रहरीलाई गाउँलेहरूले खबर गर्दथे।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले खुला सीमाका कारण भारतबाट मानिसहरू निर्बाधरूपमा भित्रिरहेको बताए। 

उनले खुला सीमा भएको कारण जतिसुकै कडाइ गर्दा पनि मानिसहरू लुकीछिपी आउने गरेको बताए।  

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित अधिकांश ठुला उद्योगहरुले भारतबाट अवैध रुपमा कामदार खबर भित्र्याएको पाइएपछि जिल्ला प्रशासनले उद्योगहरुमा अनुमगमन सुरु गरेको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी  बस्नेत नेतृत्वको टोलीले जगदम्बा इन्टरप्राइजेज र नारायणी स्टिल उद्योगमा अनुगमन गरेको हो। उद्योग प्रतिष्ठानमा भारतीय कामदार आएको र उनीहरुबाटै कोरोना संक्रमण फैलिएको गुनासो आइरहेको छ। 

उद्योग प्रतिष्ठानमा कति कर्मचारी छन्, भारतबाट कति ल्याइएको छ अनुगमन गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। 

उनका अनुसार धेरै कम्पनीहरुले भारतबाट कामदार ल्याएर उद्योग चलाउन थालेका छन्। प्रशासनले ती उद्योगहरुको कागजपत्र ल्याएर अनुगमन गरिरहेको बताएको छ। 

केहि दिन अघिमात्रै बीरगन्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजका सीइओलाई नै कोराना संक्रमण पुष्टि भएको थियो। 

मुटुको अप्रेशन गरेका उनी गण्डक कोरोना अस्पतालको आईसीयूमा उपचाररत छन्। त्यस्तै, पछिल्लो समय कोरोना पुष्टि भएकाहरुमा पनि केही भारतीय मजुदर पनि छन्। 

कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेका कारण भारतीय सहर रक्सौल र त्यस आसपासको क्षेत्र विगत केही समयदेखि लकडाउनमा छ। 
दुवै ठाउँमा लकडाउन भएको अवस्थामा पनि भारतीय कामदार भने नेपाल आइरहेका छन्। 


Leave a Reply

Your email address will not be published.