राप्रपा नेता थापालाई भित्र्याउनुअघि कांग्रेस पदाधिकारी बैठक
राप्रपा नेता सुनिलबहादुर थापालाई पार्टी प्रवेश गराउनुअघि नेपाली कांग्रेस पदाधिकारी बैठक बस्ने भएको छ। पदाधिकारी बैठकले थापालाई कुन पद दिने भन्नेबारे टुंगो लगाएपछि पार्टी प्रवेशको कार्यक्रम छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार थापालगायत ३१ नेतालाई आज दिउँसो ३ बजे पार्टी प्रवेश गराउने कार्यक्रम छ।
उनीहरूलाई पार्टी कार्यालय सानेपामा एक कार्यक्रम आयोजना गरी कांग्रेस प्रवेश गराइँदै छ। ‘कुन पद दिने भन्नेबारे टुंगो लाग्न बाँकी छ, यो पदाधिकारी बैठकले तय गर्न सक्छ,’ शर्माले भने। राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुरले राप्रपा त्यागिसकेका छन्। कांग्रेसमा उनलाई सहमहामन्त्री पद दिने सहमति भएको दाबी गरिएको छ।
थापा आफूले भने पदका लागि पार्टी प्रवेश गर्न लागेको हैन भनेका छन्। प्रजातान्त्रिक आन्दोलनका लागि अब कांग्रेसबाट राजनीति गर्ने उनले बताए।