सुमो रिजर्भ गरेर आएको समूहबाट पूर्वमा लुुटपाट, चार पक्राउ, दुई फरार

सुमो रिजर्भ गरेर आएको समूहबाट पूर्वमा लुुटपाट, चार पक्राउ, दुई फरार

टाटा सुमो रिजर्भ गरेर पूर्व आएको युवाको एक समूहले इटहरीमा लुटपाट मच्चाएको छ। एउटा घटना गराइसकेको उक्त समूहका ४ सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेका जितबहादुर श्रेष्ठ, सनबहादुर लामा, युवराज लामा र कमल लामा छन्। उनीहरूका दुई साथी भने फरार छन्। 

उनीहरूले साउन ९ गते धरानबाट इटहरी आउँदै गरेको बसमा सवार धरान–८ का ५७ वर्षीया डम्बरप्रसाद बाँस्तोलाको साथबाट इटहरीपूर्व लाइन ट्याङ्ग्रा पुुल छेउबाट ९७ हजार ६ सय रुपैयाँ लुटेका थिए। 

तत्काल भाग्न सफल भएका उनीहरूलाई प्रहरीले पिछा गरिरहेको थियो। इटहरीको तरहरा बजारस्थित कोसी राजमार्गबाट पुनः अर्को बसमा लुटपाट गर्ने योजना बनाइरहेकै बेला सादा पोसाकका प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। 

इटहरीका प्रहरी प्रमुख धर्मराज भण्डारीका अनुसार धरानको होटलमा डेरा लिएर बसेका उनीहरूले झापा, सुनसरी र मोरङका विभिन्न स्थानलाई टार्गेट गरी लुटपाट गर्ने उद्देश्य रहेको बुझिएको छ।

उनीहरू यसअघि पनि आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पटकपटक मुद्दा चलाइसकेको प्रहरी रेकर्डले देखाएको भण्डारीले जानकारी दिए। सोही टोलीका फरार दुईको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ। 

समूहमा हिँड्ने र कसैले पैसा बोकेको पत्ता लगाएपछि पिछा गरेर लुुटपाट गर्नुका साथै उस्तै परे ज्यान लिने सो समूहले योजना बनाउने गरेको प्रहरीको दाबी छ।

इटहरी आसपासमा दुले चोरको बिगबिगी रहेका बेला यसरी डेरा नै जमाएर योजनाबद्ध रूपमा लुटपाट गर्न आएको यो घटना पहिलो केस भेटिएको इटहरी प्रहरीको भनाइ छ। 

पक्राउ पर्नेले साउन ८ गते पूर्वमा चोरी गर्ने उद्देश्यले टाटा सुमो रिजर्भ गरेर आएको बताएकाे प्रहरीले जनाएकाे छ।

 

 


Leave a Reply

Your email address will not be published.