इन्जिनियरिङका विद्यार्थीद्वारा सरकारको ध्यानाकर्षण
अनेरास्ववियु नेपाल इन्जनियरिङ कलेज (नेक) कमिटी र पोखरा विश्वविद्यालय राष्ट्रिय कमिटीले १० महिनादेखि पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार, परीक्षा नियन्त्रक, डिनलगायत अन्य धेरै पदाधिकारीहरू रिक्त रहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल इन्जनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरको गेटअगाडि विभिन्न नारा बोकेको प्लेकार्डसहित उनीहरूले ध्यानाकर्षण गराएका हुन्।
आफ्नो माग बेवास्ता गर्ने चेस्टा कतैबाट भयो भने आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि उनीहरूले दिए। त्यसैले यस समस्याको छिटोभन्दा छिटो समाधाननिम्ति कुलपति (प्रधानमन्त्री), सहकुलपति (शिक्षामन्त्री) ले यथाशीघ्र कदम चाल्न अनुरोध गरिएको छ।
१० महिनादेखि पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार, परीक्षा नियन्त्रक, डिनलगायत अन्य धेरै पदाधिकारी रिक्त छ । यस्ता महत्त्वपूर्ण पदाधिकारीविहीन भइरहँदा विश्वविद्यालय शैक्षिक गतिविधि, परीक्षा, प्रशासनिक कार्यलगायत नियमित काम कारबाही नै ठप्प भएको छ।
यसले विद्यार्थीको भविष्यमाथि गम्भीर कुठाराघात भएकाले अनेरास्ववियुले ध्यानाकर्षण गरेको जनाएको छ।