कालिकोट पहिरो अपडेट : खोलाको दोभानमा मानिसकाे खुट्टा भेटियो

कालिकोट पहिरो अपडेट : खोलाको दोभानमा मानिसकाे खुट्टा भेटियो

कालिकोटको रास्कोट नगरपालिका-१ अन्तर्गत रहेको तुसार खोला र गंगेखोलाबीचको दोभानमा मानिसकाे शरीरकाे खुट्टा फेला परेको छ। खोलाको दोभानमा काटिएको अवस्थामा मानिसकाे खुट्टा फेला परेको हो।

स्थानीय दानबहादुर बमले भने, ‘मानव शरीरको खुट्टा मात्र फेला परेको छ। कसको भन्ने पुष्टि भने भएको छैन।’

गए रातिदेखि परेको अविरल वर्षाका कारण तीन किलोमिटरभन्दा लामो आएको पहिरोमा परेर ६ जना अझै बेपत्ता छन् भने एक जनाको मृत्यु भइसकेको छ।

बेपत्ता हुनेमा रास्कोट नगरपालिका-१ बडलतोलाका जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता शाही र थ्याचा शाही छन्। 

यसैगरी चोक्टेबगरका टेके टमाटा र उनकी छोरी यशोदा टमाटा पहिरोमा घाइते अवस्थामा फेला परेका छन्।

यसैगरी जिल्लाकै सान्नी त्रिवेणी गाउँपालिका-७ की केशुरा शाहीको पहिरोका घर भत्किँदा मृत्यु भइसकेको छ।

हाल इलाका प्रहरी कार्यालय रास्कोट र सान्नी त्रिवेणी गाउँपालिकामा रहेको थप प्रहरी युनिट घटनास्थलतर्फ लागेको छ।

अझै पनि पानी परिरहेको र पहिरो आउने क्रम नरोकिएका कारण उद्वारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी श्यामबावु ओलीयाले जानकारी दिए। 


Leave a Reply

Your email address will not be published.