राजधानीमा दिनदहाडै हतियारधारी समूह प्रहरीलाई छलेर उम्कियो

राजधानीमा दिनदहाडै हतियारधारी समूह प्रहरीलाई छलेर उम्कियो

मंगलबार बिहान महानगरीय प्रहरी परिसरको टोली नियमित चेकजाँचका क्रममा कृष्ण पाउरोटी चोक नजिक सक्रिय थियो। 

यहीबेला बा६च ५५१९ नम्बरको स्कार्पियो तीब्र गतिमा हुइँकिँदै आयो। प्रहरीले रोक्न खोज्यो तर स्कार्पियो रोकिएन। 

यसपछि शंका लागेर प्रहरी उक्त स्कार्पियोको पछिपछि लाग्यो। 

प्रहरी पछिपछि र स्कार्पियो अघिअघि भइरहेकै बेला कमलादीस्थित नबिल बैंकअगाडि स्कार्पियोबाट सेतो रंगको कपडाको झोला कसैले फ्याँक्यो। उक्त झोलामा दुई थान हतियार र पहेंलो धातु भेटिएको थियो।

प्रहरी टोली त्यो सेतो रंगको कपडाको झोला बरामद गर्न उत्रिँदा स्कार्पियो कता भाग्यो कता। 

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उक्त झोलाबाट दुई थान पेस्तोल र दुई थान म्यागजिन फेला परेको छ। सुनजस्तो देखिने १५ किलो धातु भने नक्कली पाइएको छ। 

त्यो स्कार्पियोमा कति जना थिए भन्ने खुलेको छैन। 

कृष्ण पाउरोटीदेखि पनि नबिल बैंकसम्मको क्षेत्र प्रहरी खटिरहने ठाउँ हो। तर, सुरक्षा समन्वयको अभाव हुँदा दिनपहाडै हतियार र नक्कली सुन बोकेर हिँड्ने समूह प्रहरी पञ्जाबाट उम्किन सफल भएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले फरार व्यक्तिहरू चाँडै दायरामा आउने बताए।  

स्कार्पियो दौडिएको क्षेत्र पुतलीसडकका हरेक चोकमा प्रहरी हुन्छन्। ट्राफिकका बिट सक्रिय छन्। तर, ती सबैलाई छलेर हतियारधारी समूह भाग्न भने सफल भएको छ। 

त्यो स्कार्पियो कता भाग्यो प्रहरीले खोजी भइरहेको परिसरले जनाएको छ।


Leave a Reply

Your email address will not be published.