लकडाउन खुलेसँगै आँखा अस्पतालमा भीड

लकडाउन खुलेसँगै आँखा अस्पतालमा भीड

लकडाउन खुलेसँगै तुलसीपुरको आँखा अस्पतालमा आँखासम्बन्धी सेवा लिने बिरामीको भीड लाग्न थालेको छ। 

लकडाउन हुँदामा न्यून संख्यामा सेवा लिन बिरामी आउने गरे पनि खुलेसँगै अस्पतालमा आँखाको सेवा लिन आउने बिरामीको संख्यामा ह्वातै बढेको आँखा अस्पतालले जनाएको छ।

दैनिक ओपिडीसँगै शल्यक्रिया गर्नेको संख्यामा पनि वृद्धि भएको अस्पतालका मेडिकल निर्देशक डा.सुलक्ष्मी कटुवालले जानकारी गराइन्।

लकडाउन खुलेसँगै यातायातको सहजताका कारण आँखाका बिरामी अस्पतालमा सेवा लिन आउने गरेको उनको भनाइ छ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जमा आँखाको सेवा लिन आउने बिरामी बढेको अस्पतालहरूले जनाएका छन्।

लकडाउनका बेला दिनमा ५० जनासम्म बिरामीले सेवा लिने गरेका थिए।

लकडाउन खुलेसँगै दैनिक राप्ती आँखा अस्पतालमा ४ महिनापछि सबैभन्दा बढी ४ सय ४३ जनाले आँखा र कानको सेवा लिएका छन्। त्यस्तै एकैदिन २० जनासम्मका बिरामीको आँखाको शल्यक्रिया हुने गरेकोे छ।

त्यस्तै लमही आँखा अस्पतालमा पनि २ सय एक जनाले ओपिडी सेवा र ७ जनाले शल्यक्रिया गरेको अस्पतालका नेत्र अधिकृत लालबहादुर चौधरीले जानकारी दिएका छन्।

छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगन्जमा दैनिक करिब एक सय बढी बिरामीले ओपिडी सेवा लिएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी गराए। उनका अनुसार दैनिक ३–४ जनाको शल्यक्रिया समेत हुने छ। 

राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र छन्द कालेबाबु नारायणी आँखा अस्पतालमा मोतियाविन्दु र अन्य आँखाको शल्यक्रिया गर्नेको संख्यामा वृद्धि हुँदै गएको मेडिकल निर्देशक डा. कटुवालले बताइन्। 

‘लकडाउन खुलेसँगै यातायात सहज भएको छ, अन्य सबै कुरा सहज हुँदा आँखाका बिरामीले पनि सहज सेवा पाउनुभएको छ,’ उनले भनिन्। लकडाउन खुले पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले सबै स्वास्थ्य सजकता अपनाएर सेवा प्रवाह गरिरहेको उनले जानकारी दिइन्। 

‘हामीले भौतिक दूरीदेखि मास्क, सेनिटाइजर, साबुनपानीले हात धुनुका साथै बिरामीको व्यक्तिगत विवरण र ज्वरो नाप लिने गरेका छौं,’ डा. कटुवालले भनिन्।

यसैबीच अस्पतालमा वर्षातसँगै आँखा पाक्ने, नानीमा घाउ भएका बिरामी धेरै आउने गरेका छन्। वर्षातसँगै आँखा रातो हुने, चिलाउने, बिझाउने र विभिन्न कारणले आँखाको नानीमा घाउ भएका बिरामी धेरै आउने गरेको डा. कटुवालले जानकारी गराइन्। 

‘प्रत्येक १० जनामा ३ जना बिरामी आँखा पाक्ने समस्या लिएर आउँछन्,’ उनले भनिन्, ‘त्योसँगै विभिन्न कारणले आँखाको नानीमा घाउ भएका धेरै बिरामी सेवा लिन आउँछन्।’

आँखा पाक्ने रोगबाट बच्न सफा पानीले दिनको ४–५ पटकसम्म मुख धुने, हिलो, धमिलो पानी र फोहर वस्तुले आँखा तथा मुखमा नछुने र आँखामा केही समस्या भए तुरुन्त अस्पतालमा आउन उनले सुझाइन्।


Leave a Reply

Your email address will not be published.