दार्चुला पहिरोमा जोशी दम्पतीको मृत्यु, छोरा झ्यालबाट हाम्फालेर बाँचे

दार्चुला पहिरोमा जोशी दम्पतीको मृत्यु, छोरा झ्यालबाट हाम्फालेर बाँचे

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ३ मा पहिरो जाँदा जोशी दम्पतीको मृत्यु भएको छ।

वर्षासँगै मंगलबार बिहान साढे ४ बजेतिर गएको पहिरोमा परी दुहु गाउँपालिका ब्रह्मदेव ३ का दुई जनाको मृत्यु भएको हो। पहिरो आएको थाहा पाएपछि जोशी दम्पतीका छोरा सुनील जोशी भने झ्यालबाट हाम्फालेर बाँच्न सफल भएका छन्।

दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीका अनुसार पहिरोले घर भत्किँदा ५० वर्षीय रतनराज जोशी र उनकी श्रीमती इन्दिरा जोशीको मृत्यु भएको हो।

‘राति आएको पहिरोमा परी जोशी दम्पतीको ज्यान गएको छ भने छोरा सुनील झ्यालबाट हाम्फालेर भाग्दा बाँच्न सफल भएका छन्,’ अध्यक्ष कार्कीले भने, ‘पहिरोमा परेर जोशी दम्पतीका साथै गाईभैंसी र बाख्रासमेत परेको छ, घरको नाम निशाना छैन।’

पहिरो गएको ठाउँ भिरालो नभए पनि रोडमा पानी जम्मा हुँदा सडक निर्माणका लागि लगाइएको तारजाली भत्किएर पहिरो गएको उनले बताए।

‘पहिरो आएको जोशी दम्पतीलाई थाहा भइसकेको रहेछ, उनीहरूले छोरालाई झ्यालबाट हाम्फालेर भाग्न भने पनि आफूहरूभित्रै अल्मलिएर बाहिर आउन नसक्दा उनीहरूको मृत्यु भयो,’ अध्यक्ष कार्कीले आयोमेलसँग भने।


Leave a Reply

Your email address will not be published.