कांग्रेसको सदस्यता लिएर सुनिल थापाले भने- म भाग्यभानी भएँ

कांग्रेसको सदस्यता लिएर सुनिल थापाले भने- म भाग्यभानी भएँ

राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन्। उनी राप्रपाका पूर्व सहमहामन्त्री हुन्। 

थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्। 

पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका छन्।

थापाले आफू कांग्रेसमा प्रवेश गर्दा महामन्त्री र केही केन्द्रीय सदस्य पाउनुपर्ने माग गरेका थिए। कार्यक्रममा थापाले लोकतन्त्र कमजोर हुँदै गएको अवस्थामा लोकतान्त्रिक पद्दतिमा ऊर्जा थप्न कांग्रेसमा प्रवेश गरेको बताए। 

उनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन र स्थापित गर्न मेरो पनि भूमिका रहनेछ। हामीले राप्रपामा हुँदा लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्छ भन्ने माग उठाउँदै आयौं। तर, राप्रपा उल्टो बाटो हिँड्यो। त्यसैले लोकतन्त्र रक्षाका लागि कांग्रेसमा प्रवेश गरेका हौं।’

उनले लामो समयपछि कांग्रेससँग टुटेको सम्बन्ध गाँस्न पाउँदा भाग्यभानी ठानेको बताए। 

लोकतनत्रको संरक्षणको दायित्व कांग्रेसको हातमा आएकाले त्यसका लागि आफूहरु पनि तयार रहेको उनको भनाइ थियो। 

महामन्त्री दिने विषयमा पार्टीभित्र चर्काे आलोचना भएपछि देउवाले महामन्त्री दिन नसक्ने र सहमहामन्त्री दिन सक्ने बताएका थिए। अन्ततः थापाले देउवाको प्रस्ताव स्वीकार्दै सहमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गरेका हुन्। थापासहित ३१ नेताले शनिबार संयुक्त रूपमा राप्रपामा राजीनामा दिएका थिए। 

पार्टी सभापति शेरबहादुर देउवाले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीको मूल्य र विधिमा रहेर योगदान गर्न आग्रह गरे। अहिले नेपालमा लोकतन्त्र खतरामा पर्दै गएकाले कांग्रेस लोकतन्त्र रक्षाका लागि कटिबद्ध रहेको बताए। पार्टी प्रवेश कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रबाट भड्किएकालाई सही बाटोमा ल्याउने दायित्व कांग्रेसकै भएको दाबी गरे। 

पौडेलले लोकतन्त्रको मूल्य र मान्यतामा आधारित समाज निर्माणको बाटोमा कांग्रेस अघि बढेको जिकिर गरे। 
 


Leave a Reply

Your email address will not be published.