२९ स्थायी समिति सदस्यको निर्णय- अब प्रचण्डले बैठक बोलाउने 

२९ स्थायी समिति सदस्यको निर्णय- अब प्रचण्डले बैठक बोलाउने 

नेपाल कम्युनिस्ट पार्टीका २९ स्थायी समिति सदस्यले आगामी दिनमा बैठक आह्वान गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएका छन्। 

अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले विधिविपरीत स्थायी समिति बैठक स्थगित गरेको सूचना प्रसारित गर्नु उचित नभएको निष्कर्ष निकाल्दै ती सदस्यहरूले आगामी बैठकको जिम्मा दाहालाई दिने निर्णय गरेका हुन्।

दाहालको सचिवालयका अनुसार मंगलबारको बैठक उनकै अध्यक्षतामा बसेको थियो। बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत थिए।

सो बैठकले पार्टी एकता, विधि र परम्परालाई ध्यानमा राखी ओलीसँग छलफल गरेर आगामी बैठक सुचारु गर्न दाहाललाई जिम्मेवारी दिने निर्णय गरेको सचिवालयले जनायो।

‘अब हुने बैठकमा उहाँको हस्तक्षेपकारी भूमिका हुन्छ, अर्का अध्यक्षले विधिविपरीत काम गर्नुभएकोले यस्तो निर्णय लिन बाध्य भइयो,’ दाहालनिकट स्रोतले भन्यो।

मंगलबारको बैठकले पार्टी एकता रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत् ढंगले अघि बढाउन र वर्तमान संकटलाई निकास दिन सबै नेता कार्यकर्ता र सदस्यलाई भूमिका खेल्न आह्वानसमेत गरेको छ।

मंगलबार बैठक बस्ने समय स्थायी समितिले नै तय गरेको थियो। तर, ओलीले एकतर्फी रुपमा बैठक स्थगत गरेको आरोप दाहाल पक्षले लगाएको छ। बैठकमा २९ स्थायी समिति सदस्यसहित दुई जना आमन्त्रित सदस्य थिए।

नेकपा स्थायी समितिमा ओली अल्पमतमा छन्। स्थायी समितिले उनलाई राजीनामा दिन दबाब दिएपछि ओली बैठक छल्दै आएका छन्।


Leave a Reply

Your email address will not be published.