नेकपा विवादमा वामदेवको हस्तक्षेप : ओलीले चुपचाप चलाएकाे प‍ुरानै हतियार 

नेकपा विवादमा वामदेवको हस्तक्षेप : ओलीले चुपचाप चलाएकाे प‍ुरानै हतियार 

मंगलबार बिहानै सत्तारुढ नेकपा स्थायी समितिको बैठक हुने भनेपछि बिहानैदेखि स्थायी समिति सदस्यहरू बैठकका लागि तयारी अवस्थामा थिए। 
बैठक सुरु नहुँदै उपाध्यक्ष वामदेव गौतमका ६ बुँदे प्रस्ताव आएपछि ११ बजे हुने भनिएको बैठकमा एकाएक ‘ट्विस्ट’ आयो। 

उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई च्याप्दै पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव सार्वजनिक गरे। 
उनको प्रस्ताव सार्वजनिक भएसँगै नेकपामा तरंग उत्पन्न भयो। 

बैठकका लागि बालुवाटार हिँड्न लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई महासचिव विष्णु पौडेलले फोन गरेर प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको सन्देश सुनाए– ‘बैठक स्थगित भयो।’

यो सूचनासँगै आक्रोशित प्रचण्ड सिधै बालुवाटार पुगे। बालुवाटारमा अर्का वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल पनि उपस्थित थिए। 
ओलीले एकाएक बैठक स्थगित गरेपछि आक्रोशित प्रचण्ड र माधव नेपालले स्थायी समिति बैठक बसाए। 

पार्टीभित्र आन्तरिक द्वन्द्व चर्किरहेका बेला प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अनुपस्थितिमा बैठक राख्नु उचित नभएको ठानेर प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल ओलीलाई भेट्न पुगे। 

बैठकमा बसेर आन्तरिक समस्या समाधान गर्नुपर्ने र बैठकमा अजेन्डामाथि छलफल गर्न अनुरोध गरे। 
तर, ओलीले उनीहरूले भनेको मानेनन्। 

त्यसपछि फर्किएका प्रचण्ड र झलनाथ खनाल माधव नेपालसँग मिलेर उपस्थित स्थायी समितिका सदस्यहरूसँग बैठक बसे। 
लामो गतिरोधबीच समस्या समाधान गर्नुपर्नेमा एकाएक बैठक स्थगित गर्नुले पार्टीको विधिविपरीत ओलीले काम गरेको भन्दै बैठकमा तीव्र आलोचना भयो। 

बैठकले प्रधानमन्त्री तथा अध्यक्ष ओलीले विधिविपरीत बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष निकाल्दै आगामी बैठकका लागि ओलीसँग परामर्श गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

महत्वपूर्ण अजेन्डाहरूमा छलफल गर्नुपर्ने र पार्टी एकताको मुद्दा बलियो रूपमा अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीले एकल निर्णय गर्दै मनलाग्दी गरेको बैठकमा सहभागी सदस्यहरूको आरोप थियो। 

नेपाल र प्रचण्ड पक्षधर सदस्यहरूले स्थायी समिति बैठक भने पनि ओली पक्षधर नेताहरूले भने बैठक नभई गुटगत भेला भएको आरोप लगाएका छन्। 
संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङले स्थायी समिति बैठक बिहानै स्थगित भइसकेकाले बालुवाटारमा राखिएको बैठक निश्चित नेतापक्षका सदस्यहरूको भेला रहेको संज्ञा दिए। 

बैठकले पार्टी एकताको रक्षा गर्न, पार्टीलाई विधि र पद्दतिसम्मत ढंगले अगाडि बढाउन र वर्तमान संकटलाई सकारात्मक ढंगले निकास दिन योगदान पु¥याउनका

निम्ति सबै पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूलाई आ–आफ्ना ठाउँबाट भूमिका खेल्न आह्वान गरेको छ। 

बैठकमा २९ जना स्थायी समिति सदस्य थिए भने दुईजना आमन्त्रित सदस्य उपस्थित रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। 

अर्को बैठक कहिले गर्ने भन्ने कुनै टुंगो लागेको छैन। अध्यक्ष ओलीसँग प्रचण्डको परामर्शपछि मात्रै अर्को बैठक कहिले राख्ने भन्ने मितिको टुंगो लाग्ने नेकपाले जनाएको छ। 

बैठकमा प्रचण्डले सहमतिको प्रयास जारी रहेकाले अहिले नै उत्तेजित नहुन आफ्ना पक्षका सदस्यहरूलाई आग्रह गरे। 

‘सहमतिबाटै निकास निकाल्ने प्रयास जारी छ, अहिले नै उत्तेजित बन्ने काम नगर्नुहोस्,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘यो बैठकलाई स्थायी समिति बैठक नभनौं। बहुमत सदस्यको बैठक भनौं। पार्टी एकतालाई प्रभाव पार्ने काम नगरौं।’

यो बैठक सकिएलगत्तै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली पत्नी राधिका शाक्यलाई लिएर उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उनकै निवास भैसेपाटी गए। 
वामदेव ओलीका पुरानै ‘हतियार’ हुन्। चुनाव जित्न नसकेका वामदेवलाई अप्ठ्यारो पर्दा ओलीले धेरैपटक आफ्नो ‘हतियार’ बनाइसकेका छन्। 
मन्त्रिपरिषदमा ल्याउनका लागि सांसद बनाउने प्रस्तावदेखि उपचुनावहरु लडाउने प्रस्तावसमेत ओलीले गरेका थिए। 

मंगलबारको बैठकअघि वामदेवले सार्वजनिक गरेका प्रस्तावहरू पनि ओली ‘फेवर’कै थिए। नभन्दै ‘प्रचण्डले चलाएको’ सकिएलगत्तै ओली वामदेवलाई भेट्न भैसेपाटी नै पुगे। 

नत्र, ओली सित्तिमित्ति अरु नेतालाई भेट्न यसरी निवासमै पुगेका घटना सायदै छन्। 

बैठकमा क–कसले के–के भने!

मेरो प्रस्तावअनुसार नै पार्टीलाई अगाडि बढाउनुपर्छ : वामदेव 

नेकपा उपाध्यक्ष वामदेव गौतमले आफ्नो प्रतावअनुसार नै पार्टी अघि बढाउनुपर्ने बताएका छन्। मंगलबार दिउँसो बालुवाटारमा भएको स्थायी समिति सदस्यहरू सहभागी बैठकमा उनले पार्टीलाई एकताबद्ध बनाउन आफूले दिएका सुझावअनुसार नै अघि बढ्नुपर्ने बताए। 

‘पार्टीलाई विभाजनबाट रोक्न र मजबुत बनाउने हो भने बिहान मैले दिएका ६ बुँदे सुझावअनुसार नै अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री ओलीइतरका सदस्यहरू सहभागी उक्त बैठकमा गौतमको भानइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो। 

गौतमले मंगलबार बिहान दुई अध्यक्षलाई विभिन्न ६ बुँदामा सुझाव दिएका थिए। गौतमले प्रचण्ड एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारीमा रहने पनि उल्लेख गरेका छन्। 

पार्टी एकता सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका काममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपर्दा पार्टी सचिवालयमा परामर्श गर्नुपर्ने गौतमको सुझाव छ।

हाम्रा टाउका गनेर तपाईंहरूले बार्गेनिङ गर्नुभो : भीम रावल 

स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको नेतृत्व नीति र सिद्धान्तभन्दा पनि पदमा केन्द्रित भएको आरोप लगाए। उनले अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार

नेपालले पदका लागि आफूहरूको टाउको गनेर प्रधानमन्त्री ओलीसँग बार्गेनिङ गरिरहेको बताए। 

‘तपाईंहरू हाम्रा टाउका गन्ने र पदको बार्गेनिङ गर्ने गर्न थाल्नुभयो, पदबाहेक अरू कुरालाई गौण बनाइएको छ। यही ताल हो भने सधैं साथ दिन गाह्रो हुन्छ,’ बैठकमा नेता रावलले भने। 

वामदेव गौतमको प्रस्ताव सार्वजनिक भएसँगै बालुवाटारमा बैठक सुरु गर्ने तयारी गर्दै गर्दा नेकपाका अर्का नेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ट्विट गर्दै पार्टी दुर्घटनातर्फ नजिक गएकाले सबैलाई सजग रहन आग्रह गरे। 

उनले सल्लाह र सहमतिबाट विवाद समाधान गर्नुपर्ने भन्दै अहिले नै हतारमा निर्णय नलिन नेकपा नेतृत्वलाई आग्रह गरेका थिए। 


Leave a Reply

Your email address will not be published.