घरसँगैै बगिन् मकै गोड्न गएकी अस्मिता
मिहिनेती थिइन्, घरको काममा पनि अभिभावकलाई सघाउथिन्।
१३–१४ जनाको संयुक्त परिवारकी अस्मिता शाही मकैबार गोड्न जान्थिन्। घरदेखि एक किलोमिटर पूर्व लागेपछि आउथ्यो, मकैबारी।
बारीको नजिकै फुपुको घर। त्यहाँ उनका दौतरी थिए। खेल्दै–कुद्दै मकै गोड्न मिल्थ्यो।
सोमबार बिहाना खाना खाइवरी १५ वर्षीय अस्मिता बारीमा मकै गोड्न पुगिन्। फुपुका घरका बालबालिका पनि आए।
१५ वर्षीया संगीता शाही, १२ वर्षीया कौशा र ८ वर्षीय नवीन घरमै थिए। फुपाजु जयबहादुर शाहीले पनि बालकालिकालाई खेल्दै काम गर्न भनेका थिए।
उनले फुपाजुका छोराछोरीसँगै बारीमा मकै गोडिन् ।
अस्मिताकी फुपु भने अहिले भारतै छिन्। लकडाउनले गर्दा दुई छोरा दुई बुहारीसँगै उनी भारतै बसेकी छन्।
भारतमा छोरा–बुहारीको कमाई र कालिकोटमा हुने उब्जनीले परिवारको जोहो टथ्र्यो।
साँझ पर्यो। दिनभर आफ्नै उमेरका दौतरीसँग रमाएकी अस्मितालाई घर जान मन लागेन। फुपाजुले पनि यतै बस्न भने।
रास्कोट नगरपालिका–१ स्थित गंगे खोला नजिकै अस्मिताको फपुको घर छ। कालिका आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत अस्मिता सोमबार साँझ फुपुको घरमै बस्ने भइन्।
ढुंगाले बनेको तीन तले घरको तल्लो तल्लामा एक हल गोरू, बाख्रा–पाठा र एउटा दुहुनो भैंसी थिए। फुपुका छोराछोरीसँग मिलेर उनले भैंसीगोरूलाई घास दिइन्।
जयबहादुरले खाना बनाएर खुवाए।
साँझको खाना खाइयो र भोलि फेरि मकै गोड्ने योजनामा अस्मितासहित सबै सुते।
तर, भोलि आएन। अस्मिताका योजना पहिरोमै बगे।
घटनाका बारेमा जानकारी दिँदै स्थानीय दानबहादुर बमले भने, ‘पहिरोले घरमा रहेका सबैलाई लगेछ।’
सोमबार रातिदेखि परेको अविरल वर्षासँगैको पहिरोले अस्मिता र उनका फुपाजुसहित घरका पाँचै जना पुरिए।
मंगलबार दिउँसोसम्म कालिकोटका विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जना बेपत्ता भएका छन्। दुई घाइते भएका छन् भने एक जनाको शव फेला परेको छ ।