क्लोरोक्विन प्रयोग गर्न भनेपछि ट्रम्पका छोरालाई ट्विटरमा प्रतिबन्ध

क्लोरोक्विन प्रयोग गर्न भनेपछि ट्रम्पका छोरालाई ट्विटरमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि ‘हाइड्रोक्सी क्लोरोक्वीन’लाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न सकिने बताएका छन्। 

मलेरियाको यो औषधी कोरोना संक्रमणका लागि आफूले सिफारिस गरेकै कारण त्यसलाई अस्विकृत गरिएको उनले गुनासो पनि गरे।

उनको अभिव्यक्ति आफ्ना ‘विज्ञ’हरुप्रति लक्षित थियो। 

ह्वाइटहाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘जब मैले कुनै पनि चीजको सिफारिस गरिरहेको हुन्छु, उनीहरुलाई त्यसलाई खारेज गर्न मन पराउँछन्।’

यो औषधीले कोरोना संक्रमणको उपचार सम्भव भएको अहिलेसम्म प्रमाणित भएको छैन।

केही समयअघि पनि अमेरिकी एफडिएले कोरोना संक्रमितको उपचारका लागि त्यो औषधीको प्रयोग नगर्न चेतावनी दिइसकेको थियो। 

विश्व स्वास्थ्य संगठनले पनि उक्त औषधीले कोरोना निको पारेको कुनै प्रमाण नभएको भन्दै जथाभावी प्रयोग नगर्न भनेको थियो। 

ट्रम्पले यो अभिव्यक्ति दिनुभन्दा केही समयअघिमात्रै ट्रम्पका जेठो छोरा, जुनियर ट्रम्पले यही औषधीको प्रशंसा गरिएको एउटा भिडियो ट्वीट गरेका थिए।

त्यसपछि ट्वीटरले उनको एकाउन्ट १२ घण्टाका लागि बन्द गरिदिएको छ। ट्वीटरका अनुसार जुनियर ट्रम्पको यो भिडियो कोरोना भाइरसका सम्बन्धमा गलत सूचना दिनेखालको थियो। त्यसैले त्यसलाई बन्द गरिएको हो। 

ट्रम्पले पटकपटक कोरोना संक्रमितको उपचारका लागि यो औषधीको सिफारिस गर्दै आएका छन्। 

खासमा मलेरियाका लागि प्रयोग हुने यो औषधी भारतले सबैभन्दा धेरै उत्पादन गर्छ। अहिले अमेरिकासहित विश्वका धेरै देशहरुले भारतसँग यो औषधी किनेका छन्। 


Leave a Reply

Your email address will not be published.