आज कहाँ-कहाँ हुन्छ भारी वर्षा?
देशभर मनसुनी वायुको प्रभाव रहेकाले सामान्यदेखि भारी वर्षा हुने क्रम जारी छ।
हाल देशभर सामान्य बदली रही केही स्थानमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि भारी वर्षा हुने भएकाले सर्वसाधारणलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै गण्डकी प्रदेश, ५ नम्बर प्रदेश सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १, २, बागमती र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।
बुधबार तीन दिनको मौसम सम्बन्धि जानकारी दिँदै महाशाखाले देशका सबै प्रदेशको मौसममा बदली आएर केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ।