नेपालले एआइआइबीलाई भन्यो- ऋणको सर्त खुकुलो बनाऊ
नेपालले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई ऋणको शर्त खुकुलो पार्न आग्रह गरेको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार उद्घाटन गरेको एआइआइबीको अनलाइन बैठकमा नेपालका अर्थमन्त्री डा. युवराज खतिवडाले सहुलियतपूर्ण ऋण प्रदान गर्दाको शर्त खुकुलो पार्दै पहुँच सहज पार्न आग्रह गरेको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
पूर्वाधार क्षेत्रमा दीर्घकालीन लगानी एकत्रित पार्न आग्रह गरेका मन्त्री खतिवडाले सहुलियतपूर्ण ऋणको पहुँच सहज बनाएमा नेपालजस्ता कम आय भएका मुलुकलाई आधारभूत पूर्वाधार परियोजना वित्तीय रूपमा सम्भाव्य हुने बताए।
उनले भौतिक पूर्वाधार तथा दिगो विकासमा ध्यान दिनुपर्ने र दीर्घकालीन विकासका आयोजनाका लागि लगानीका सम्बन्धमा समन्वय गर्नुपर्ने बताए।
अर्थमन्त्री खतिवडाले जलवायु परिवर्तन रोकथामका लागि लगानी गर्नु आवश्यक भए पनि अहिलेको प्राथमिकता कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण भएको बताएका छन्।
‘महामारीको विषम परिस्थितिमा अन्य कुराभन्दा स्वास्थ्य उपकरणमा जोड दिई गरिबी घटाउने कुरामा उपलब्ध भएका प्रयासलाई जोगाउनुपर्छ, जसले गर्दा नेपालजस्तो विकासोन्मुख देशका लागि फाइदाजनक हुन्छ,’ अर्थमन्त्री खतिवडाले भनेका छन्।
एआइआइबीको नयाँ अध्यक्षमा जिङ लिक्विन चुनिएका छन्।