पहिराेले एकै घरका ६ जना पुरिए, एकको मृत्यु 

पहिराेले एकै घरका ६ जना पुरिए, एकको मृत्यु 

सोमबार राति पहिरो जाँदा ८ जना बेपत्ता र एक जनाको मृत्यु भएको कालीकोटमा पुनः मंगलबार राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने, ६ जना बेपत्ता भएका छन्।

कालीकोटको नरहरीनाथ गाउँपालिका–७ बगामा पहिरो जाँदा एकै परिवारका ६ जना बेपत्ता भएका हुन्। मंगलबार राति स्थानीय ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा ६ जना पुरिएका छन् एक जनाको मृत्यु भएको छ।

बेपत्ता हुनेमा गंगेसहित उनकी ६२ वर्षीया पत्नी मैना बुढा, २४ वर्षीय बुहारी उषा बुढा, १० वर्षीय नातीनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

पहिरोमा परी गम्भीर घाइते भएकी १८ वर्षीया बिमला बुढालाई उद्धार गरी स्थानीय कुमालको स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिए। घरमा पुरिएकाहरुको खोजी गर्न प्रहरी चौकी कुमालगाउँबाट प्रहरी घटनास्थल पुगेको छ। यस्तै, मंगलबार बिहान रास्कोट नगरपालिका–१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर बपत्ता भएका पाँच जनाको शव अझै भेटिएको छैन। उनीहरुको खोजीका लागि कालिकोटबाट थप प्रहरीको टोली घटनास्थल पठाइएको छ।

यस्तै सान्नीत्रिवेणी गाउँपालिका–२ मा पहिरो खस्दा एक घर पुरिएको छ। बाँकी ८ घर जोखिममा परेका छन्। मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशष्त्र प्रहरीको टोली घटनास्थल जाँदैछ।

यस्तै सान्नीत्रिवेणी गाउपालिका वडा ७ क्यूरीको बस्ती पनि पहिरोको जोखिममा परेको छ। गाउँको दुवैतिर पहिरो गएकाले गाउँ नै खस्ने जोखिममा परेको स्थानीयले बताएका छन्। पहिरोले कर्णाली राजमार्ग र कर्णाली करिडोरको दर्जनबढी ठाउँमा पहिरो जाँदा सवारी आवागमनसमेत अवरुद्ध भएको छ।


Leave a Reply

Your email address will not be published.