श्रमिकले चैतको पूरै तलब पाउने, रोजगारदाता संस्था र ट्रेड युनियनबीच सात बुँदे सहमति

श्रमिकले चैतको पूरै तलब पाउने, रोजगारदाता संस्था र ट्रेड युनियनबीच सात बुँदे सहमति

श्रमिकले लकडाउनकाे समय ०७६ चैत महिनाको पूरै तलब पाउने भएका छन्।

सरकारले गत चैत ११ गतेदेखि लकडाउन लागू गरेपछि उद्योगप्रतिष्ठान ठप्प रहेकोमा श्रमिकको पारिश्रमिकको विषय अन्यौलमा थियो।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र आवद्व ट्रेड युनियन महासंघबीच भएको द्विपक्षीय सहमति अनुसार श्रमिकले ०७७ वैशाखको भने ५० प्रतिशत पारिश्रमिक पाउने भएका हुन्।

लकडाउनका कारण काममा उपस्थित हुन नसकेका श्रमिकले जेठमा पनि ५० प्रतिशत पारिश्रमिक पाउने छन्। जेठमा कयाैं उद्योग प्रतिष्ठान सञ्चालनमा आइसेका थिए।  

त्याे बेला कतिपय उद्योगले आलोपालो प्रणालीबाट श्रमिकलाई काममा लगाएका थिए।

‘व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज सञ्चालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित बस्तुगत  संघ तथा सो क्षेत्रसँग सम्बन्धित उद्योग-प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनले पनि आपसी छलफल गरी सहमती गर्न सक्नेछन्,’ सहमतिपत्रमा भनिएको छ।

हाल लकडाउन अन्त्य भइसकेको छ, भने उद्योग व्यवसाय सञ्चालन हुन थालेका छन्। यस्तो अवस्थामा काममा आवद्ध श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्ने तर आंशिक रुपमा उद्योग व्यवसाय सञ्चालन गरेर सीमित श्रमिकलाई मात्र काममा लगाउनुपर्ने अवस्था आएमा आलोपालो प्रणाली लागू गर्न सिफारिस गरिएको छ।

‘श्रमिकलाई समानुपातिक ढंगबाट काम लगाई श्रमिकले काम गरेको अनुपातमा पारिश्रमिक भुक्तानी गरिने छ,’ सहमति पत्रमा भनिएको छ।

सरकारले लकडाउन अन्त्य गरेपछि कोरोना संक्रमितको संख्या धेरै रहेका क्षेत्रमा लकडाउन कायम गरिएको छ। लकडाउनका कारण उद्योगमा काम गर्न आउन समस्यामा परेका श्रमिकलाई कार्यरत स्थलसम्म आउने वातावरण मिलाइने भएको छ।
 
रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियनबीचको सहमति सरकारलाई सिफारिस गरिएको हो। कोरोना रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण उद्योग र व्यवसाय बन्द थिए। 

यी हुन् सात बुँदे सहमति

– उद्योग प्रतिष्ठानले ०७६ चैत्र महिनाको पारिश्रमिक भुक्तानीको हकमा लकडाउन अवधि समेतका लागि साविक वमोजिम पूरा पारिश्रमिक भुक्तानी गर्ने।

– श्रमिकको पारिश्रमिक वारे नेपाल सरकारको निर्णयको सन्र्दभमा २०७७ वैशाख महिनाको लागि श्रमिकको ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र ०७७ जेष्ठ महिनाको हकमा लकडाउनको कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत मात्र भुक्तानी गर्ने।

-उद्योग व्यवसाय क्षेत्रको प्रकृति फरक फरक हुने भएकोले व्यवसायको प्रकृति र अवस्था अनुसार उद्योग प्रतिष्ठानको सहज संचालन, लकडाउन अवधिको पारिश्रमिक भुक्तानी र श्रमिकहरुलाई आलोपालो गरी काममा लगाउने लगायतका विषयमा सम्बन्धित बस्तुगत  संघ तथा सो क्षेत्रसँग सम्बन्धित  उद्योग-प्रतिष्ठानका रोजगारदाता र प्रतिष्ठान स्तरका ट्रेड युनियनहरुले पनि आपसी छलफल गरी सहमती गर्न सक्नेछन । 

-लकडाउन अन्त्य भई उद्योग व्यवसाय संचालन हुन थालेकाले काममा आउने श्रमिकलाई पारिश्रमिक भुक्तानी गर्ने तर आंशिक रुपमा उद्योग व्यवसाय संचालन गर्नुपर्ने भई केही श्रमिकलाई मात्र काममा लगाउन सकिने अवस्था भएमा सबै श्रमिक कर्मचारीको रोजगारी सुनिश्चितताको लागि उद्योग प्रतिष्ठानले श्रमिक संख्या यकिन गरेर श्रमिकलाई कार्य सिफ्ट तोकि आलोपालो काममा लगाउन सकिनेछ। सबै श्रमिकलाई समानुपातिक ढंगबाट काम लगाई श्रमिकले काम गरेको अनुपातमा पारिश्रमिक भुक्तानी गरिने छ।

-बन्दाबन्दीको अवधीमा वन्द रहेका उद्योग संचालन गर्ने क्रममा सम्पूर्ण उद्योग प्रतिष्ठानहरुले कर्मचारीको स्वास्थ्य सुरक्षाको लागि आवश्यक व्यवस्था मिलाउने।

-कोरोना भाईरस संक्रमणले सिर्जना गरेको अभूतपूर्ण संकट, मानव स्वास्थ्यको सुरक्षामा देखिएको चूनौती, आर्थिक गतिविधिमा परेको असरका साथै श्रमिक वर्ग र श्रम क्षेत्रमा परेको प्रभाव न्यूनिकरण र अर्थतन्त्रको छिटो पुनउत्थानको लागि अवलम्वन गर्नुपर्ने उपायका वारेमा नेपाल सरकारलाई रोजगारदाता संस्था र ट्रेड युनियनहरुले संयूक्त रुपमा अनुरोध गर्ने एवं सुझाव दिने साथै उद्योग व्यवसायको संचालन, श्रम सम्वन्ध सुधार र श्रम क्षेत्रका समस्या समाधान गर्न आपसी संवाद र सहकार्यलाई थप निरन्तरता दिने ।

-विभिन्न स्थानमा अझै कायम वन्दावन्दीको कारणवाट उद्योग प्रतिष्ठानमा काम गर्न आउन समस्यामा परेका श्रमिक-कर्मचारीलाई कार्यरत उद्योग प्रतिष्ठान रहेको जिल्ला-नगर सम्म आउने वातावरण सरकार र व्यवस्थापनले मिलाउने।


Leave a Reply

Your email address will not be published.