भक्त्तपुरमा यसपालिकाे गाईजात्रा के हाेला?

भक्त्तपुरमा यसपालिकाे गाईजात्रा के हाेला?

भक्तपुरको (गुन्हीपुन्ही) गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता र सरोकारवाला पक्षसँग आग्रह गरिने भएको छ। 

यसवर्ष गाईजात्रा सञ्चालन र व्यवस्थापनबारे जात्रासँग सम्बन्धित सरोकारवालाबीच नगरपालिकाले यस्तो आग्रह गर्ने निर्णय भएको जनाइएको छ। 

औपचारिकतामा सीमित भन्नाले पूजाआजा मात्र नभई ताहामचा बनाउन हुने र त्यसलाई नगर परिक्रमामा गर्दा भिड नगरी परिवारमात्र सहभागी हुन मिल्ने वडाध्यक्ष रवीन्द्र ज्याख्वाले बताए। 

बासा लुकेगु, भजन, घिङ्ताघिसी (लठ्ठी जुधाएर खेल्ने खेल) इत्यादि लैजान नपाउने उनले बताए। पूर्खादेखि चल्दै आएको परम्परालाई नमास्ने हिसाबले अहिलेको अवस्था बुझेर नगरपालिकाले यस्तो निर्णय गरेको वडाध्यक्षको भनाइ छ। 

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले जात्रा र पर्वहरू स्थगन गर्नु व्यक्तिगत र संस्थागत चाहना नभई विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि भएको बताए।

मेयर प्रजापतिले समुदायका नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट बचाउने अभिप्रायले गाईजात्रालाई औपचारिकतामा सीमित गर्नुपर्ने बताउँदै  क्षणिक मनोरन्जनले पूरै समुदायलाई संक्रमणको खतराबाट जोगाउनु अहिलेको आवश्यकता भएको बताए।

बैठकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस हालका दिनमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा समुदायस्तरमा संक्रमण देखिन थालेको र नेपाल सरकारले वीरगन्ज, राजविराज, विराटनगरलगायतका सहरमा निषेधाज्ञा र कफ्र्युसमेत घोषणा गरिएको अवस्थामा रोग संक्रमणको संवेदनशील परिस्थिति मध्यनजर गरी नजिकिँदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता र सरोकारवाला पक्षलाई आग्रह गर्ने निर्णय गरेको हो।

गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्द कर्माचार्यले जात्रालाई विधिवत रूपमा सीमित औपचारिकतामा सीमित गरी मनाउनु अहिलेको आवश्यकता भएको बताए। परिस्थितिअनुसार जात्रालाई अघि बढाउनुपर्ने उनको तर्क छ।

बैठकमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्यहरू, भैरवनाथ जात्रा सहयोग समिति, नौ दाफा भजन समूह, पुलां दाफा भजन, लाकोलाछेँ दाफा भजन, चपाल दाफा भजन, भैरवनाथ जात्रा सहयोग समिति, बाराही जात्रा संरक्षण समिति, दत्तात्रय मन्दिर संरक्षण समितिलगायतका प्रतिनिधिको सहभागिता थियो।

भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आर्कषण सापारुको घिन्ताङघिसी नाच हो। घिन्ताङघिसी घिसी, माकप्याँख, देवी नाच भने दिउँसोबाट निकाल्ने चलन थियो। यसपालि त्यो हुने छैन।

नेवाः समुदायले विशेष पर्वका रूपमा मनाउँदै आएको सापारु वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आत्माले मोक्ष प्राप्त गरुन भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म मनाइने गरिन्छ ।

नेपाल भाषामा सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रममा गराएमा मृतात्माहरू गाईको पुच्छर समातेर वैतर्णी नदी तरेर स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ। 


Leave a Reply

Your email address will not be published.