अब नबिल बैंकबाट चेकबिनै एक लाख रुपैयाँसम्म झिक्न मिल्ने
नबिल बैंकबाट चेक बिना नै दैनिक एक लाख रुपैयाँसम्म झिक्न मिल्ने भएको छ।
नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले मंगलबारबाट ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको जनाएकाे छ।
स्क्यान एन्ड वीड्रमार्फत ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाख सम्मको रकम झिक्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
बैंकले हाललाई यो सुविधा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको र देशभर नै विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘अब नबिल बैंकका ग्राहकले चेक-एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नाे मोबाइल बैंकिङ ए्यापमा लगइन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नाे खाताबाट रकम झिक्न सक्नेछन्।’
कोभिड-१९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनीकरण गर्न बैंकले यस पद्धतिमार्फत बैंक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको दाबी गरिएको छ।
‘क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एन्ड वीड्रमार्फत नबिल बैंकका ग्राहकले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ।