क्रिकेटर सन्दीप चार्टर उडानबाट सिपिएल खेल्न जाने
नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि बिहीबार वेस्ट इन्डिजतर्फ जाने भएका छन्।
अन्तर्राष्ट्रिय हवाई उडान राेकिएकाे अवस्थामा लेग स्पिनर सन्दीपले यात्रा अनिश्चित बनेकाे थियो। अमेरिका जाने कोरियाली एयरलाइन्सकाे चार्टर उडानबाट उनी जान लागेका हुन्।
त्यसका लागि नेपाल सरकारले विशेष पहल गरिदिएकाे सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले जानकारी गराएका छन्। सिवाकोटीले अगस्ट १ सम्म सन्दीप सेन्ट लुसिया पुग्ने जनाए। सन्दीप अमेरिका हुँदै गन्तव्यस्थल पुग्नेछन्।
सन्दीपले जमैका तलवाजबाट खेल्ने छन्। त्यसका लागि उनी ९० हजार डलरमा अनुबन्धित भएका थिए। तलवाजमा सन्दीपसहित आन्द्रे रसेल, कार्लाेस ब्रेथवेट, आसिफ अलीजस्ता खेलाडी छन्।
ट्वान्टी-२० संरचनामा हुने सिपिएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन्। अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुनेछ । काेभिड १९ महामारीपछि विश्व क्रिकेटमा हुन लागेकाे याे पहिलाे ठूलाे लिग क्रिकेट हाे। जहाँ विश्वका स्टार खेलाडीकाे संलग्नता हुनेछ।
सन्दीपकाे सिपिएल तयारीबारे आजै कीर्तिपुर मैदानमा साढे ४ बजे पत्रकार सम्मेलन गरिने सिवाकाेटीले जनाएका छन्।